काठमाडौं- नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ।
आयोजनाले आज सार्वजनिक सूचना जारी गरेर सडक बोर्ड नेपालको कार्यकारी समितिको गत असोज १२ गतेको निर्णयअनुसार यही कात्तिक १५ गतेदेखि टोल शुल्क उठाउन लागेको हो।
सरकारले २०८२ चैत २६ गते राजपत्रमा सूचना प्रकाशित गरी नागढुंगा–नौबिसे सुरुङमार्गमा सवारीसाधन गुडाउने शुल्क निर्धारण गरेको थियो। सरकारले सवारीसाधनको क्षमताअनुसार सुरुङमार्गको प्रयोग गर्ने सवारीसाधनका लागि छुट्टाछुट्टै दस्तुर निर्धारण गरेको छ। कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीसाधनका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र सोही वर्गका सवारीसाधन काठमाडौंबाट प्रस्थान गर्दा ६० रुपैयाँ तोकिएको छ।
त्यस्तै, मिनीबस, मिनी टिपर/ट्रकका लागि काठमाडौं प्रवेश गर्दा १२५ रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा ८० रुपैयाँ दस्तुर तोकिएको छ।
त्यसैगरी बस, ट्रक (सिंगल रियर एक्सल) सवारीको लागि काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा २०० रुपैयाँ दस्तुर तोकिएको छ।
त्यसैगरी मल्टिएक्सल ट्रक/सवारीसाधन, भारी उपकरणको लागि काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र काठमाडौंबाट प्रस्थान गर्दा २५० रुपैयाँ दस्तुर तोकिएको छ। यो सुरुङमार्ग गत साउन ११ गते उद्घाटन गरेर परीक्षणका रूपमा सवारीसाधन गुडाउँदै आइरहेको छ।