काठमाडौं- विश्व पोलियो दिवसका अवसरमा शनिबार काठमाडौं उपत्यकाका सातवटा विश्व सम्पदास्थललाई जोड्दै ५०० भन्दा बढी साइकलयात्रीले पोलियो उन्मूलनको सन्देश फैलाएका छन्।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको पोलियोप्लस उपसमितिले पोलियो रोगविरुद्ध जनचेतना बढाउने उद्देश्यले मेगा साइकल र्याली आयोजना गरेको हो।
‘इन्ड पोलियो नाउ’ अर्थात् ‘पोलियो अन्त्य गरौं’ भन्ने नारासहित भएको र्यालीमा विभिन्न रोटरी क्लबका सदस्य, साइकलयात्री तथा अन्य सहभागीहरू जोडिएका थिए।
भक्तपुर दरबार स्क्वायरबाट बिहान सुरु भएको र्याली चाँगुनारायण, बौद्ध, पशुपतिनाथ, स्वयम्भू र हनुमानढोका दरबार स्क्वायर हुँदै ललितपुरको पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो। र्यालीले काठमाडौं उपत्यकाका सातवटा युनेस्को विश्व सम्पदास्थललाई समेटेको थियो।
ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनसँगै बालबालिकालाई पोलियोबाट जोगाउन नियमित खोपको महत्त्वबारे सन्देश दिन र्याली आयोजना गरिएको आयोजकले जनाएको छ।
र्यालीको उद्घाटन समारोहमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटरियन विष्णुबहादुर कार्की, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, रोटरी पोलियो ब्रान्ड एम्बासडर तथा मिस वर्ल्ड नेपाल दीपमाला धकाललगायत विभिन्न रोटरी क्लबका प्रतिनिधिहरू सहभागी थिए। त्यसैगरी रोटरी क्लब आफ आरसी भक्तपुरले कार्यक्रम आयोजना गरेको थियो। क्लबका अध्यक्ष दशरथ प्रजापतिले यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्ने बताए।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बालबालिकालाई रोगबाट सुरक्षित राख्न नियमित खोप र जनचेतनाको महत्त्व रहेको बताए।
“बालबालिकाको स्वास्थ्य सुरक्षित राख्नु परिवारको मात्र नभई सिंगो समाजको जिम्मेवारी हो, पोलियोजस्तो रोगबाट बच्न नियमित खोप आवश्यक छ। यस्ता अभियानले स्वास्थ्यसम्बन्धी सन्देश समुदायसम्म पुर्याउन सहयोग गर्छन्,” प्रजापतिले भने।
रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटरियन विष्णुबहादुर कार्कीले पोलियो उन्मूलनका लागि निरन्तर जनचेतना र सामूहिक प्रयास आवश्यक रहेको बताए।
रोटरी पोलियो ब्रान्ड एम्बासडर तथा मिस वर्ल्ड नेपाल दीपमाला धकालले पोलियोबारे जनचेतना फैलाउन समाजका सबै पुस्ताको सहभागिता आवश्यक रहेको बताइन्।
हरेक वर्ष अक्टोबर २४ मा मनाइने विश्व पोलियो दिवसले पोलियो रोगको विश्वव्यापी उन्मूलनका लागि भइरहेका प्रयासलाई बलियो बनाउने उद्देश्य राख्छ। यस अवसरमा नियमित खोपको महत्त्व, रोगबारे जनचेतना र बालबालिकाको स्वास्थ्य सुरक्षामा जोड दिने गरिन्छ। रासस