काठमाडौं- यस वर्ष विजया दशमीको साइत कात्तिक ४ गते बुधबार बिहान १०:२६ बजे उत्तम रहेको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ।
त्यस दिन बिहान ०८:४९ बजे देवी विसर्जन गरी १०:२६ बजेको शुभ साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिने समितिले जनाएको छ।
पश्चिम मोहडा गरेर टीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। अर्थात्, टीका लगाइमाग्ने मानिस पश्चिम फर्केर टीका थाप्नुपर्ने छ।
विजया दशमीका दिन दिनभर टीका लगाउन सकिने भए पनि साइतमै टीका लगाउन चाहनेका लागि यो साइत दिइएको समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिए।
राज्य सञ्चालकले भने समितिले तोकेकै साइतमा मान्यजनबाट टीका, प्रसाद थाप्नुपर्ने उनले बताए। देवीको प्रसादका रूपमा देशका धेरै भागमा कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका र आशीर्वाद थाप्ने गरिन्छ। केही भागमा भने विजयादशमीका दिनमात्र देवीको प्रसादका रूपमा टीका थाप्ने गरिन्छ।
नेपालमा राष्ट्रिय चाडका रूपमा दसैं मनाउने गरिन्छ। दसैंमा वातावरण नै उल्लासमय बन्छ। विभिन्न पेसा र व्यवसायका क्रममा थातथलोभन्दा टाढा टाढा रहेका नेपाली मान्यजनको आशीर्वाद थाप्न घर फर्कने गर्छन्। शरद ऋतुको उल्लासमय वातावरणमा मनाइने दसैंमा विशेषगरी नवदुर्गा भवानीको विशेष पूजा, आराधना गरिन्छ।
यस वर्ष असोज २५ गते आइतबारदेखि नवरात्रारम्भ हुँदै छ। नवरात्रको पहिलो दिन घटस्थापना गरिन्छ। घटस्थापनाका लागि बिहान ११:४७ बजेको साइत शुभ रहेको छ। यो दिन चित्रा नक्षत्र र वैधृति योगसमेत परेकाले घटस्थापना गर्नुअघि चित्रा नक्षत्र र वैधृति योगका शान्ति गर्नुपर्ने उनले बताए।