काठमाडौं- गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहाएको आरोपमा सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआइजी) वंशीराज दाहाललाई निलम्बन गरेको छ।
मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार सशस्त्र प्रहरी बलले दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी पदीय आचरणविपरीत कार्य गरेको भन्दै कारबाहीका लागि सिफारिस गरेको थियो।
उक्त सिफारिसका आधारमा मन्त्रालयले असोज १९ गतेको निर्णयबाट दाहाललाई निलम्बन गर्दै घटनाको छानबिनका लागि जाँचबुझ अधिकृतसमेत तोकेको जनाएको छ।
मन्त्रालयले जाँचबुझ अधिकृतलाई तीन दिनभित्र अनुसन्धान पूरा गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। छानबिनबाट प्राप्त निष्कर्षका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ।
दाहालको पदावधि यही २८ असोजमा सकिँदै छ।