काठमाडौं- नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ। शनिबार बिहानदेखि यस वर्षको मनसुन सुदूरपश्चिमसहित विभिन्न प्रदेशहुँदै बाहिरिएको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णालीसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट बाहिरिएको जनाएको छ।
विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमितरुपमा अनुगमन गरिरहेको जनाएको छ।