काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन नहुने बताएकी छन् । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिँदै उनले संसद्प्रति सरकार जवाफदेही हुनुपर्नेमा जोड दिइन्।
संसद्मा बोलेका विषयमा सुनुवाइ नहुने तर मन्त्रालय तथा मन्त्रीका सचिवालयमा धाउँदामात्रै सुनुवाइ हुने प्रवृत्ति गलत भएको बताउँदै सचेतक धितालले सत्तापक्षभित्र पनि प्रतिपक्षी भूमिका रहने उल्लेख गर्दै संसद्लाई सधैँ सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोका रूपमा मात्र बुझ्न नहुने बताइन् ।
संसद्मा सांसदको उपस्थिति घट्नुका कारणबारे पनि गम्भीर समीक्षा गर्नुपर्ने बताउँदै उनले संसदीय वातावरण कति व्यवस्थित छ भन्ने प्रश्न गरिन् । “सांसदहरू दलको आदेशभन्दा विवेकबाट चल्न दिनुपर्छ । अघोषित मुकामबाट बोल्न रोक लगाउने वा सिकाउने काम हुनु हुँदैन”, उनले भनिन् ।
सरकारका दृष्टिमा संसद्लाई हेर्ने सोचमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले सांसदको भूमिका खोजिएको ठाउँमा केवल उपस्थिति खोजेरमात्र नहुने बताइन् । “भूमिका खोजेको ठाउँमा उपस्थितिमात्रै खोजेर हुँदैन”, उनले भनिन् ।