काठमाडौं– राष्ट्रिय सभाको बिहीबारको बैठकले भोटेकोशी तथा कालीगण्डकी करिडोरमा भएका विपद्को जोखिम, क्षति र पुनःस्थापनाको अध्ययन गर्दै दीर्घकालीन जोखिम न्यूनीकरणको मार्गचित्र सिफारिस गर्न नौ सदस्यीय विशेष समिति गठन गरेको छ।
बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति’ गठन गरिएको जानकारी दिए। समितिमा कृष्णप्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्णप्रसाद अधिकारी, सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पूजा चौधरी र तुलप्रसाद विश्वकर्मा सदस्य रहेका छन्। समितिमा एक सदस्य पछि थप गरिने छ।
समितिले विपद् जोखिम न्यूनीकरणको तयारी, जनधनको क्षति, बेपत्ता तथा प्रभावितको खोजी, उद्धार, राहत तथा क्षतिपूर्ति, घाइतेको उपचार, शव व्यवस्थापन र पुनःस्थापनाको समीक्षा गर्ने छ। त्यस्तै, जलवायु परिवर्तनको प्रभाव विश्लेषण गर्दै प्रभावितको पुनःस्थापना, भौतिक संरचनाको पुनर्निर्माण, जोखिम न्यूनीकरण र जलवायु न्यायका लागि मार्गचित्र सिफारिस गर्ने समितिको कार्यक्षेत्र तोकिएको छ।
समितिले विपद् आउनुअघि जोखिमको सूचना उपलब्ध गराउने वैज्ञानिक तथा आधुनिक पूर्वसूचना प्रणाली र प्रविधिको विकास तथा प्रभावकारी कार्यान्वयनका लागि आवश्यक संयन्त्रबारे सुझाव दिने छ। विषयगत विज्ञसँग अन्तरक्रिया गरी विपद्को कारण, जोखिम र दीर्घकालीन प्रभावको वैज्ञानिक विश्लेषणसमेत गरिने छ।
समितिले विपद्प्रभावित छिमेकी राष्ट्रसँग अनुभव, प्रविधि, सूचना तथा स्रोतसाधन आदानप्रदानका लागि सहकार्यको उपयुक्त ढाँचा तथा विपद् जोखिम न्यूनीकरण, उद्धार, राहत र पुनःस्थापनामा सहकार्यको अध्ययन गर्ने छ। जलवायु परिवर्तनमा नगण्य योगदान गरेका तर बढी प्रभावित राष्ट्रले नकारात्मक योगदान गर्ने राष्ट्रबाट हानिको क्षतिपूर्ति प्राप्त गर्ने अन्तर्राष्ट्रिय व्यवस्था र सम्भावित कानुनी आधारबारे पनि समितिले अध्ययन गर्ने छ।
त्यस्तै, नयाँ बस्ती बसाउँदा भविष्यमा कम क्षति हुने स्थान पहिचान गर्न भूगर्भीय, भौगोलिक तथा जलवायुजन्य जोखिमका आधारमा वैज्ञानिक अध्ययन गर्ने समितिको कार्यक्षेत्र रहेको छ। समितिको कार्यावधि २०८३ पुस मसान्तसम्म रहने छ। समितिले आवश्यक कार्यविधि, कार्ययोजना र कार्यतालिका बनाएर काम गर्न सक्ने तथा प्रतिनिधिसभामा गठित विशेष समितिसँग आवश्यक समन्वय गर्ने व्यवस्था गरिएको छ।