काठमाडौं- कञ्चनपुरको दोधारा–चाँदनी र भीमदत्तनगरलाई जोड्ने झोलुंगे पुल महाकाली नदीमा आएको बाढीका कारण भत्किएको छ।
बुधबार बिहान करिब ८ बजे महाकाली नदीको बीच भागमा रहेको पुलको एक पिलर भत्किएपछि पुलको ठूलो हिस्सा नदीमा खसेको हो। प्रत्यक्षदर्शीका अनुसार पुलको एक भाग नदीमा बगेको छ।
प्रहरीका अनुसार भीमदत्त नगरपालिका–१३ तर्फबाट छैटौँ नम्बर तथा दोधारा–चाँदनीतर्फबाट तेस्रो नम्बरको भाग भत्किएको हो। पुलको बीच भागमा क्षति पुगेपछि दोधारा–चाँदनी र भीमदत्तनगरबीचको आवागमन पूर्ण रूपमा बन्द भएको छ।
सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले क्षतिको विस्तृत अध्ययनका लागि प्राविधिक टोली पठाउने तयारी भइरहेको बताए। उनका अनुसार प्राविधिक अध्ययनपछि मात्रै पुलमा पुगेको वास्तविक क्षति यकिन हुनेछ।
जोशीका अनुसार नटबोल्टलगायतका कारणले पुलको स्पान खसेको पुष्टि भएमा मर्मत गरेर बुधबार साँझसम्मै सञ्चालनमा ल्याउन सकिने सम्भावना छ।