म्याग्दी- बाढी पहिरोबाट प्रभावित म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गरिएको छ।
जिल्ला विपद् व्यवस्थापन समितिको मंगलबार बसेको बैठकले विपद् संकटग्रस्त जिल्ला घोषणा गर्न सिफारिस गर्ने निर्णय गरेको हो। विपद् संकटग्रस्त जिल्ला घोषणा गरेर पुनर्निर्माण र पुनस्र्थापना कार्यलाई प्राथमिकता दिन गृह मन्त्रालयमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी गणेश गैरेले जानकारी दिए। यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरिपछिको बाढी र पहिरोले जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ।
विपद्मा परी सात जनाको ज्यान गएको छ। यस्तै, दुई जना बेपत्ता भएका छन्। सडक, विद्युत्, सिँचाइ, खानेपानी, भवनलगायत भौतिक संरचनामा ठूलो क्षति पुगेकाले म्याग्दीलाई विपद् संकटग्रस्त जिल्ला घोषणाका लागि सिफारिस गरिएको उनले बताए।
यसैगरी, म्याग्दीमा बाढी पहिरोले भौतिक संरचना, निजी आवास, कृषि, पशुपक्षी क्षेत्रमा पुगेको क्षतिको विवरण संकलन गर्न मंगलबारदेखि स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सुरक्षाकर्मीको टोली परिचालन भएका छन्।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले उद्धार र राहतसँगै छ वटै पालिकामा क्षति विवरण संकलन कार्य सुरु भएको जानकारी दिए। उनका अनुसार हालसम्म प्राप्त विवरणअनुसार बाढी पहिरोले बेनी नगरपालिकामा २३, रघुगंगामा तीन, मंगलामा १८, मालिकामा एक, अन्नपूर्णमा दुई र धवलागिरिमा एक घर पूर्ण क्षति भएको विवरण प्राप्त भएको छ। बेनी नगरपालिकामा नौ र मालिका गाउँपालिकामा एक घरमा आंशिक क्षति पुगेको छ।
बेनीमा २३, रघुगंगामा ४७, मंगलामा चार, मालिकामा तीन र धवलागिरिमा २३ घर जोखिममा परेका छन्। बेनीमा २१, रघुगंगामा २६, मंगलामा आठ, अन्नपूर्णमा एक वटा गोठ तथा जिल्लाभर २० वटा पशुधनको क्षति भएको विवरण संकलन भएको छ।
पहिरोले गाउँ घेरिएपछि फसेका अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार, गिवाङ, नेपाने, किन्दु, धोस्केखोर, घिरवाङका १०९ जनालाई हेलिकप्टरमार्फत उद्धार गरेर शिख र घारमा अस्थायी शिविर बनाएर राखिएको छ।
विपद्पछि उद्धार कार्यमा ७० नेपाली सेना, २५१ नेपाल प्रहरी र ६० जना सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन भएका छन्। बाढी र पहिरोका कारण म्याग्दीको सदरमुकाम बेनीदेखि अन्य जिल्ला र ग्रामीण क्षेत्र जोड्ने सबै सडक अवरुद्ध छन्। सदरमुकाम बाहेकका क्षेत्रमा विद्युत् र सञ्चार सेवा अवरुद्ध भएको छ। जिल्ला सदरमुकाम बेनीमा खानेपानीको हाहाकार भएको छ। रासस