सिरहा - सशस्त्र प्रहरी बल, नेपालले सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट १६ लाख ५० हजार ४६३ रुपैयाँ बराबरको अवैध चोरी निकासी तथा पैठारीका सामान बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको टोलीले २०८३ असोज १२ गते जिल्लाका विभिन्न सीमावर्ती क्षेत्रमा निगरानी, गस्ती तथा चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ओसारपसार भइरहेको अवस्थामा विभिन्न सामान नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद सामानमा लत्ताकपडा, किराना सामग्री, सुर्तीजन्य पदार्थ, कस्मेटिक सामान, खेलौना, हार्डवेयरका सामान, पेय पदार्थ, मोटर पार्ट्स, चकलेट, मोटरसाइकल तथा औषधि लगायत रहेका छन्।
खुला सीमाको फाइदा उठाउँदै भारतबाट नेपालतर्फ भन्सार छली गरी ल्याइएका तथा नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएका सामानमाथि सशस्त्र प्रहरीले निगरानी बढाउँदै आएको जनाएको छ। यसअघि पनि सिरहाका विभिन्न सीमा क्षेत्रबाट ठूलो परिमाणमा अवैध सामान बरामद हुँदै आएको छ।
सशस्त्र प्रहरीका अनुसार पछिल्लो बरामद सामग्रीको कुल मूल्य १६ लाख ५० हजार ४६३ रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएका सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाइएको जनाइएको छ।
सिरहाका सीमा नाकाबाट हुने चोरी निकासी, भन्सार छली तथा अवैध पैठारी नियन्त्रणका लागि नियमित गस्ती, चेकजाँच र निगरानीलाई निरन्तरता दिइएको सशस्त्र प्रहरीले जनाएको छ।
सिरहामा पछिल्ला महिनामा अवैध सामान बरामदको क्रम जारी रहेको छ। भदौ महिनामा मात्रै ६९ लाख ४६ हजार ९९३ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको विवरण सार्वजनिक भएको थियो।