काठमाडौं- नुवाकोटको टोखा-छहरे सडकखण्ड आवतजावत बन्द गरिएको छ । भदौ १ गतेदेखि अर्को सूचना जारी नभएसम्म राति १० बजेदेखि बिहान ५ बजेसम्मका लागि आवतजावत बन्द गरिएको हो ।
अत्यावश्यक सेवाबाहेक सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न बन्द गरिएको नेपाल प्रहरीले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । रसुवाको पासाङल्हामु सडकखण्डअन्तर्गत उत्तरगया गाउँपालिका-५ खाल्टेमा त्रिशूली नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक अवरुद्ध भएको थियो ।
त्यस्तै, त्रिशूली बजार, बेत्रावती हुँदै रसुवागढी नाकासम्म जाने मुख्य पासाङल्हामु राजमार्ग बाढीले क्षति पु¥याएपछि पूर्णरूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ । स्याफ्रुबेँसीसम्म पुग्न काठमाडौँ-टोखा-छहरे-विदुर-नुवाकोट दरबार-फलाँटे-चोकदे-लच्याङ-सरमथली-पाच्र्याङ-भोर्ले शून्य किमि-कालिकास्थान-स्याउबारी-राम्चे-सोले-धुन्चे हुँदै स्याफ्रुबेँसीसम्मको एक लेनको कच्ची वैकल्पिक सडक प्रयोग गर्न सकिने प्रहरीले जनाइएको छ ।
“सोलुखुम्बुमा सिद्धिचरण लोकमार्गलगायत जिल्लाका भित्री सडकमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सेवाबाहेक सवारीसाधन तथा पैदलयात्रुको आवागमनमा रोक लगाइएको छ ।” प्रहरीद्वारा जारी बुलेटिनमा भनिएको छ, “दाङमा राप्ती राजमार्गअन्तर्गत तुलसीपुर-कपुरकोट, भालुवाङ-चकचके सडकखण्डको भालुवाङ-गनाहा खोला, सहिद मार्गअन्तर्गत घोराही-होलेरी, घोराही-मुर्कुटी तथा तुलसीपुर-सुर्खेत सडकखण्डको तुलसीपुर-कालीमाटी क्षेत्रमा साँझ ५ बजेदेखि बिहान ६ बजेसम्म आवागमन बन्द गरिएको छ ।”
यसैगरी रोल्पामा भारी वर्षाको सम्भावनाका कारण मदन भण्डारी राजमार्गअन्तर्गत रोल्पा नगरपालिका-७ माडीचौर क्षेत्रमा असोज ८ गतेदेखि १२ गतेसम्म सवारी आवागमनमा रोक लगाइएको छ । नेपाल प्रहरीका अनुसार धादिङमा बेनीघाट रोराङ गाउँपालिका-७ कृष्णभीर, वडा नं १० टिङराङखानी तथा गजुरी गाउँपालिका-२ परेवाभीरमा अविरल वर्षाका कारण ठूलो ढुङ्गासहित पहिरो खसेपछि पृथ्वी राजमार्ग दुईतर्फी अवरुद्ध भएको छ ।
भोजपुरमा साँझ ६ बजेदेखि भित्री तथा सहायक सडकमा सवारी आवागमन पूर्णरूपमा रोक लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मध्यपहाडी लोकमार्गमा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक सवारी, एम्बुलेन्स, दमकल तथा अत्यावश्यक खाद्यान्न बोकेका सवारीलाई नजिकको प्रहरी एकाइसँग समन्वय गरी सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ ।
यसैगरी मनाङमा बेँसीसहर हुँदै खाङसार तथा लमजुङको सीमादेखि खाङसारसम्म राति ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मनाङको नासों गाउँपालिका-३ खोत्रोमा अविरल वर्षाका कारण सडक माथिबाट ढुङ्गासहित पहिरो खसेपछि चामे-बेँसीसहर सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
“बागमती प्रदेशका विभिन्न जिल्लामा समेत जोखिमका कारण आवागमनमा समय निर्धारण गरिएको छ । चितवनमा नारायणगढ-मुग्लिन सडकखण्डमा निरन्तर पहिरो खसिरहेका कारण सबै सवारीसाधनको आवागमन बन्द गरिएको छ । धादिङमा पृथ्वी राजमार्गमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन रोकिएको छ,” प्रहरीद्वारा जारी बुलेटिनमा भनिएको छ, “मकवानपुरमा कान्ति राजमार्गमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म मात्रै आवागमनको व्यवस्था गरिएको छ ।
भैँसे-भीमफेदी-देउराली-कुलेखानी हुँदै काठमाडौँ जाने सडकमा समेत तोकिएको समयभित्र मात्रै सवारी सञ्चालन गर्न दिइएको छ ।” प्रहरीका अनुसार सिन्धुलीमा असोज ८ देखि ११ गतेसम्म साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म बीपी राजमार्गमा आवागमन पूर्णरूपमा रोक लगाइएको छ ।
दोलखामा असोज ८ देखि १० गतेसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म जिल्लाभरका सडकमा आवागमन रोकिएको प्रहरीले जनाएको छ ।
यसैगरी काभ्रेमा बिपी र अरनिको राजमार्ग हुँदै सिन्धुपाल्चोकतर्फ जाने सवारीसाधनलाई साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रोक लगाइएको छ ।
काभ्रेको रोशी गाउँपालिका-७ चारसयबेँसी र रोशी-८ गिम्दीबेँसीमा पहिरो खसेपछि बीपी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो । सिन्धुपाल्चोकमा असोज ८ देखि ९ गतेसम्म राति ८ बजेदेखि बिहान ५ बजेसम्म पृथ्वी राजमार्गमा आवागमन रोक लगाइएको जनाइएको छ ।
त्यसैगरी ओखलढुङ्गामा मानेभञ्ज्याङ गाउँपालिका-६ र ७ को सीमामा पर्ने भँडारे खोलामा लेदोसहितको बाढी आएर सडकमा क्षति पु¥याएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ ।
सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायले मौसम पूर्वानुमानअनुसार सम्भावित बाढी, पहिरो तथा डुबानको जोखिमलाई मध्यनजर गर्दै आवागमनमा रोक लगाएको जनाएका छन् । नेपाल प्रहरीले सर्वसाधारणलाईअत्यावश्यक कामबाहेक जोखिमयुक्त सडकमा यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गरेको छ ।