काठमाडौं- अविरल वर्षाका कारण फोहोर ढुवानी गर्ने सडक र ल्याण्डफिल साइट अवरुद्ध भएपछि काठमाडौंको फोहोर ढुवानी रोकिएको छ।काठमाडौं महानगरपालिकाले आज एक सूचना जारी गर्दै घरको फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ।
'अहिले भइरहेको अबिरल वर्षाका कारण फोहोर ढुवानी गर्ने सडक र ल्याण्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खसिरहेको हुँदा फोहोर ढुवानी तथा विसर्जन गर्ने कार्यमा असहजता उत्पन्न भएको छ,' महानगरले भनेको छ, 'यस विषम परिस्थितिका कारण केही समयका लागि फोहोर संकलन तथा ढुवानी कार्य प्रभावित हुन सक्ने भएकाले महानगरवासी, घरधनी, व्यवसायी तथा सम्बन्धित सबैमा फोहोर सडक, चोक, सार्वजनिक स्थल, खोला-नाला वा अन्य खुला स्थानमा नफाल्नुहुन अनुरोध गरिन्छ ।'
आफ्नो घर, पसल, व्यवसाय तथा कम्पाउण्डबाट निस्कने फोहोर सडक, चोक, सार्वजनिक स्थल, खोला-नाला वा अन्य खुला स्थानमा नफाल्न महानगरले अनुरोध गरेको हो । साथै, फोहोर संकलन नियमित हुन नसक्ने अवधिसम्म सम्भव भएसम्म फोहोर सुरक्षितरूपमा आफ्नै घर/परिसर भित्र राख्न भनिएको छ।
फोहोरलाई सड्ने/जैविक र नसड्ने फोहोर छुट्याई सुरक्षितरूपमा व्यवस्थापन गर्न, सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्दा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानीको निकासमा समेत बाधा पुग्ने भएकाले विशेष सावधानी अपनाउन महानगरले आग्रह गरेको छ।
वर्षा तथा ल्याण्डफिल साइटको अवस्था सामान्य हुनासाथ फोहोर संकलन तथा ढुवानी सेवा नियमितरूपमा सञ्चालन गरिने महानगरको भनाइ छ।