काठमाडौं- ग्रिनहुड नेपालले ‘प्रकृति पहरेदार पुरस्कार’ घोषणा गरेको छ। प्रकृति संरक्षणमा विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई सम्मान गर्ने उद्देश्यले उक्त पुरस्कार घोषणा गरिएको हो।
प्रकृति संरक्षणका लागि समर्पित व्यक्ति तथा उनीहरूले गरेका योगदानलाई सार्वजनिकरूपमा चिनाउन यस पुरस्कारले सहयोग पुर्याउने संस्थाले विश्वास लिएको छ। 'यस सम्मानमार्फत विशेषगरी जैविक विविधता, वन्यजन्तु तथा प्राकृतिक स्रोतको संरक्षणमा महत्त्वपूर्ण भूमिका रहेको व्यक्तिहरूलाई अनुकरणीय व्यक्तित्वका रूपमा धेरैमाझ चिनाउने गर्ने लक्ष्य राखिएको छ। खासगरी जैविक विविधता संरक्षण, वन्यजन्तु अपराध नियन्त्रण, संरक्षणसम्बन्धी सचेतना, खोज तथा अनुसन्धानलगायत प्रकृति संरक्षणका विभिन्न क्षेत्रमा सक्रिय रही प्रेरणादायी भूमिका निर्वाह गर्ने व्यक्तिहरूलाई यस पुरस्कारका लागि २०८३ मङ्सिर २९ गतेसम्म उम्मेदवार सिफारिस गर्न सकिने,' संस्थाले भनेको छ।
संस्थाका अनुसार यस पुरस्कारका लागि कुनै औपचारिक योग्यता आवश्यक पर्ने छैन। जुनसुकै उमेर, पेसा वा पृष्ठभूमिका नेपाली नागरिक यस पुरस्कारका लागि उम्मेदवार बन्न सक्ने छन्। 'प्रकृति संरक्षणमा योगदान पुर्याइरहेका व्यक्ति सार्वजनिकरूपमा चर्चित वा कुनै विशेष क्षेत्रमा परिचित हुनैपर्ने भन्ने छैन,' संस्थाले जनाएको छ।
यस पुरस्कारका लागि आफैँलाई वा अरू कसैलाई मनोनयन गर्न सकिने जनाइएको छ। उम्मेदवारका योगदान सार्वजनिक रूपमा पुष्टि गर्न सकिने वा उपलब्ध प्रमाणका आधारमा मूल्यांकन गर्न सकिने हुनुपर्ने बताइएको छ। 'प्राप्त उम्मेदवारीहरूको मूल्यांकनका लागि विविध विधाका विज्ञहरू सम्मिलित एक स्वतन्त्र छनोट समिति रहने छ। उक्त समितिले उम्मेदवारको योगदान, समर्पण र प्रभावकारितालाई आधार मानेर पुरस्कारका लागि व्यक्ति छनोट गर्ने छ,' सस्थाको भनाइ छ।
यो पुरस्कार प्रत्येक वर्ष एक व्यक्तिलाई यो पुरस्कार प्रदान गरिने जनाइएको छ। पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको छ।
'प्रकृति संरक्षण कुनै एक व्यक्ति, संस्था वा क्षेत्रको मात्र जिम्मेवारी नभई सबैको साझा दायित्व हो। यही भावनालाई आत्मसाथ गर्दै आफ्नो क्षेत्रबाट प्रकृति संरक्षणमा योगदान पुर्याइरहेका व्यक्तिहरूलाई पहिचान गरी उनीहरूको कामलाई सम्मान गर्ने उद्देश्यले यो पुरस्कार स्थापना गरिएको हो,' संस्थाले भनेको छ।
ग्रिनहुड नेपाल विज्ञानमा आधारित संरक्षण संस्था हो, जसले संकटमा रहेका वन्यजन्तु र तिनीहरूको वासस्थान संरक्षणमा सहयोग गर्दछ।