काठमाडौं- नेपाल प्रहरीले यही असोज ९ देखि ११ गतेसम्म विभिन्न स्थानमा भारी वर्षा हुनसक्ने सम्भावनालाई लक्षित विभिन्न राजमार्गमा रात्रि समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार दिउँसो सार्वजनिक गरेको सूचनाअनुसार पृथ्वीराजमार्गसहित विभिन्न राजमार्गमा रातको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको छ।
पृथ्वीराजमार्ग भएर सञ्चालन हुने सवारीसाधन पनि बिहीबार बेलुका ८:०० बजेदेखि बिहान ५:०० बजेसम्म आवागमनमा पूर्ण रोक लगाइएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार देशभर मनसुन भइरहेकाले सिद्धिचरण लोकमार्गमा बिहीबारदेखि असोज १२ गतेसम्म बेलुकी ६:०० देखि बिहान ६:०० बजेसम्म अत्यावश्यकबाहेकका सम्पूर्ण सवारीसाधन तथा पैदलयात्रीको रात्रिकालीन आवतजावत पूर्णरूपमा रोक लगाइएको जनाएको छ।
मकवानपुर जिल्लाका कान्ति राजमार्ग, भैँसे-भीमफेदी देउराली कुलेखानी हुँदै काठमाडौँ आउने सडक पनि बेलुका ७:०० देखि सवारी आवागमन पूर्णरुपमा रोक लगाइएको छ।
त्यसैगरी बिपी राजमार्ग पनि बेलुकी ५:०० देखि बिहान ५:०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। साथै, नारायणगढ-मुग्लिन सडकखण्डमा पनि बिहीबार बेलुका ८:०० देखि भोलि बिहान ५:०० बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।-