काठमाडौं- जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाल १२औँ स्थानमा सीमित बनेको छ। योसँगै जारी प्रतियोगितामा नेपालको महिला भलिबलको यात्रा टुंगिएको छ।
यसअघि सन् २०२३ मा चीनको हाङझाउमा सम्पन्न १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपालले महिला भलिबलतर्फ ११औं स्थान प्राप्त गरेको थियो।
जापानको ओकाजाकी चुओ सोगो पार्क व्यायामशालामा मंगलबार भएको खेलमा नेपाल मंगोलियासँग ३–० सोझो सेटमा पराजित भएको हो। मंगोलियाले पहिलो सेट २५-२३ अंकले जित्यो। मंगोलियाले दोस्रो सेट २५–१७ अंक तथा तेस्रो सेट २५–१३ अंकले जित्यो।
प्रतियोगितामा नेपालले पाँचवटा खेल खेलेको थियो। जसमध्ये एउटामा जित तथा चारवटामा पराजित भयो। समूह चरणको खेलमा नेपाल जापान र इन्डोनेसियासँग पराजित भएको थियो भने त्यसपछि नवौँदेखि १४औँ स्थानका लागि भएका खेलमा नेपालले कजाकिस्तानलाई मात्र पराजित गर्न सफल भएको थियो। हङकङसँगको खेलमा नेपाल पराजित भएको थियो।