काठमाडौं- नेपाल र भुटानका प्रधानमन्त्रीहरू संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन न्युयोर्क गइरहेको अवसर पारेर मानवअधिकारवादी संस्थाहरूले भुटानी शरणार्थी संकटको स्थायी समाधान र भुटानी राजनीतिक बन्दीहरूको निःशर्त रिहाइको माग गरेका छन्।
ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान (जिसिआरपिपिबी) र भुटान इन्डिपेन्डेन्ट पिपल्स फोरम (बिआइपिएफ) ले मंगलबार एक संयुक्त विज्ञप्ति जारी गर्दै तीन दशकभन्दा बढी समयदेखि अल्झिएर रहेका यी दुई मुद्दालाई तत्काल सम्बोधन गर्न नेपाल र भुटान सरकारलाई आह्वान गरेका हुन्।
जिसिआरपिपिबीका संस्थापक तथा विश्व संयोजक राम कार्की र बिआइपीएफका महासचिव डी.बी. सुब्बाद्वरा जारी गरिएको विज्ञप्तिमा भुटानी राजनीतिक बन्दीहरूको निरन्तरको हिरासतलाई गम्भीर मानवअधिकार उल्लङ्घनको विषय भन्दै चिन्ता व्यक्त गरिएको छ। जुन २०२६ मा चतुरमान तामाङ र हस्तबहादुर राईलाई रिहाइ गरिए पनि ह्युमन राइट्स वाचको प्रतिवेदनअनुसार अझै २८ जना भुटानी राजनीतिक बन्दीहरू भुटानका विभिन्न जेलमा रहेका छन् । बाँकी रहेका सम्पूर्ण बन्दीहरूलाई बिना ढिलाइ निःशर्त रिहा गर्न र उनीहरूलाई सम्मानपूर्वक नागरिक जीवनमा फर्कन आवश्यक कागजात तथा व्यावहारिक सहयोग प्रदान गर्न भुटान सरकारसँग माग गरिएको छ।


न्युयोर्कमा नेपालका प्रधानमन्त्री वालेन्द्र शाह र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेको उपस्थितिले यी लामो समयदेखिका मुद्दाहरू सम्बोधन गर्ने उपयुक्त अवसर प्रदान गरेको विज्ञप्तिमा उल्लेख छ। मानवअधिकारवादी संस्थाहरूले प्रधानमन्त्री शाहलाई भुटानसँगको भेटवार्तामा शरणार्थी र बन्दीहरूका सरोकारलाई निरन्तर उठाउन आग्रह गर्दै प्रधानमन्त्री तोब्गेलाई भुटानी शरणार्थीहरुको स्वदेश फिर्ती र राजबन्दी रिहाइका लागि ठोस कदम चाल्न आह्वान गरेका छन्।
सन् १९८० को दशकको अन्त्य र १९९० को दशकको सुरुतिर भुटानबाट जबरजस्ती निष्कासित गरिएका बहुसंख्यक नेपालीभाषी भुटानीहरू पूर्वी नेपालका शरणार्थी शिविरहरूमा आश्रय लिन बाध्य भएका थिए। संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तको कार्यालयको सहयोगमा सन् २००७ देखि २०१६ सम्ममा १ लाख १३ हजार भन्दा बढी शरणार्थीहरूलाई आठ विभिन्न देशमा पुनर्वास गराइएको थियो। यद्यपि, अझै पनि हजारौँ भुटानी शरणार्थीहरू नेपालमै छन् जस मध्य धेरै आफ्नो मातृभूमि फर्कने पर्खाइमा छन्।
यस सन्दर्भमा मानवअधिकारवादी संस्थाहरूले नेपाल र भुटानलाई अर्थपूर्ण द्विपक्षीय वार्ता पुनः सुरु गर्न र शरणार्थी संकटको स्थायी समाधान खोज्न आग्रह गरेका हुन्।