बुटवल– तिनाउ–दानव करिडोर निर्माण कार्यका नाममा नदीजन्य पदार्थको जथाभावी उत्खनन हुँदा स्थानीयहरू चिन्तित हुन थालेका छन्। यता करिडोरको काम कागजी घोडामा सीमित हुन पुगेको छ।
तिनाउ र दानव नदीका दुवैतर्फ किनारमा सडक निर्माण गरी भारतीय सीमासँग जोडेर बुटवल र नदी किनारका क्षेत्रको पर्यटन र आर्थिक विकासमा जोड दिने उद्देश्यका साथ आर्थिक वर्ष २०७६/७७ मा सुरू गरिएको योजना हो यो। तर यो करिडोरको लक्ष्यअनुसार कामले गति नलिएपछि नदी र नदी किनार आसपासबाट जथाभावी नदीजन्य पदार्थ उत्खनन नरोकिएपछि स्थानीयहरू तिनाउमा बनेका पुल र नदी किनारका बस्तीहरू नै जोखिममा पर्ने देखेपछि चिन्तित हुन थालेका हुन्।
सडक निर्माणको गति न्यून भए पनि करिडोर निर्माणका नाममा आसपासबाट नदीजन्य पदार्थको उत्खनन गरी अर्बाैंको चोरी निकासी भएको निवेदन स्थानीयले जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा दिएका छन्। प्रशासनले बुटवल उपमहानगरपालिका र सडक डिभिजन कार्यालयल बुटवललाई असोज २ गते पत्राचार गरेर आवश्यक कारबाही गर्न निर्देशन दिएको छ। पत्रमा मापदण्डविपरीत नदीजन्य पदार्थको अवैध उत्खनन भएको भए कानुनबमोजिम कारबाही गर्न र सम्झौताविपरीत भए राजस्व असुल गरी कार्यालयलाई जानकारी दिन निर्देश गरिएको छ।
तिनाउ करिडोरको नाममा नदीजन्य पदार्थको तस्करी र चोरी निकासी भएको वडा कार्यालय, बुटवल उपमहानगरपालिका, सडक कार्यालयलगायतका निकायमा जानकारी गराए पनि ती निकायबाट वास्ता नगरेको स्थानीयले गुनासो गरेका छन्। त्यसपछि आफूहरू जिल्ला प्रशासन कार्यालय पुगेको स्थानीय विजय ढकालले बताए। उनले इन्द्र बानिया कन्स्ट्रक्सनले विगत छ वर्षदेखि हरिहरपुर क्षेत्रमा क्रसर मेसिन नै राखेर सडकको काम गरेको नाममा नदीजन्य पदार्थ जथाभावी उत्खनन गर्दै चोरी निकासी गर्दै आएकोले यस्तो काम रोक्न आफूहरू लाग्नुपरेको दाबी गरे।
स्थानीयले पटक–पटक जानकारी गराउँदा पनि पालिका र सडक कार्यालयले वास्ता नगरेपछि ठेकेदार, कर्मचारीको काममासमेत आशंका गरेका छन्। सडक निर्माणको काम नहुने तर नदीजन्य पदार्थ उत्खनन भइरहने, तिनाउ किनारमा ठूला खाडल बनाएर मापदण्डविपरीत नदीजन्य पदार्थ जथाभावी उत्खनन हुँदा बस्तीसमेत जोखिममा पर्न सक्ने बुटवल–१७ हरिहरपुरका बाबुराम श्रेषले बताए।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल नदीको किनारमा ठूलो लगानी गर्न नहुने पाठ भोटेकोशी घटनाले सिकाएको बताउँछन्। तिनाउ करिडोर योजनाको देखिने काम नभएकाले कागजी घोडामात्र बनेको उनको भनाइ छ। ‘योजनाको हल्ला प्रचार बढी भयो लामो समय हुँदा पनि देखिने काम भएन,’ उनले भने, ‘नदीको जलाधार क्षेत्रको वातावरणीय अध्ययन नगरी यहाँ ठूलो लगानी गर्न हुँदैन।’
तिनाउ–दानव करिडोर निर्माणका नाममा अन्य ठाउँबाट पनि नदीजन्य पदार्थको जथाभावी उत्खनन र चोरी निकासी हुँदा स्थानीय पालिकाको ध्यान जान नसकेको अध्यक्ष अर्यालले बताए। यसबाट राजस्वसमेत गुमेको स्थानीय बताउँछन्।
स्थानीय कृष्ण खरेलले इन्द्र बानिया कन्स्ट्क्सन छ वर्षदेखि सडक निर्माणका नाममा बसेको तर ३० प्रतिशत पनि काम नभएको बताए। धेरै सवारीसाधन राखेर नदीजन्य पदार्थको काम गरेकाले यो क्रसर नै हरिहरपुर क्षेत्रबाट हटन पर्ने उनी बताउँछन्।
बुटवल–१७ हरिहरपुरमा बानिया कन्स्ट्रक्सनले तिनाउ करिडोर सडकको ठेक्का पाँच वर्ष अगाडिदेखि प्राप्त गरे पनि सडक निर्माणको कामले गति नलिएको तर नदीजन्य पदार्थ जथाभावी उत्खनन गरी अर्बौंको चोरी निकासी भएको स्थानीयले जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा दिएको निवेदनमा उल्लेख छ।
तिनाउ–दानव करिडोर करिब सवा चार अर्ब रुपैयाँ संघीय सरकारको बजेटअन्तर्गतको योजना हो।