काठमाडौं- माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट शनिबार थप ११ जनाको शव टनेलबाट बाहिर निकालिएको छ।
नेपाली सेनाका अनुसार आयोजनाको अडिट-३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका ११ वटा शव शनिबार उद्धार गरी बाहिर निकालिएको हो।
'भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूको खोजी कार्यका लागि आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीद्वारा खोजी गर्दा अडिट-३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा फेला परेका ११ वटा शवहरू आज मिति २०८३ असोज ३ गते उद्धार गरी बाहिर निकालिएको छ,' सेनाले भनेको छ।
यसअघि सोही टनेलबाट १८ जनाको शव बाहिर निकालिएको थियो। शनिबार ११ शव थपिएसँगै उक्त टनेलबाट निकालिएको शव संख्या २९ पुगेको छ।
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका कारण टनेलभित्र सम्पर्कविहीन व्यक्तिहरुको खोजी गर्ने क्रममा ती शव भेटिएका हुन्। सुरुङभित्र थप खोजी कार्य भइरहेको जनाइएको छ ।