काठमाडौं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले वरिष्ठ तेक्वान्दो प्रशिक्षक संगीना वैद्यलाई राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागको निर्देशकको जिम्मेवारी दिएको छ।
तालिम तथा प्रशिक्षण विभागको जिम्मेवारी पाउने उनी पहिलो महिला हुन्।
सङ्गीनाले आठौं र नवौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साफ) मा स्वर्ण पदक जितेकी छन्। उनले सन् १९९६ मा अस्ट्रेलियाको मेलबर्नमा भएको एसियाली तेक्वान्दो च्याम्पियनसिपमा पनि स्वर्ण पदक जितेकी थिइन्।
सङ्गीना छनोट चरण पार गरेर ओलम्पिक खेल्ने पहिलो नेपाली खेलाडी हुन्। उनले ग्रिसको एथेन्समा सन् २००४ मा भएको ओलम्पिक छनोट चरण पार गरेर खेलेकी थिइन्।