बागमती- हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा र त्यस आसपासका क्षेत्रबाट विशेषगरी नयाँ सवारीसाधन किन्नेले सामान्यतः नछुटाउने तीर्थस्थल हो चुरियामाई । विगत वर्षमाजस्तै यस वर्ष पनि विश्वकर्मा पूजाका अवसरमा आज बिहानैदेखि ठाउँठाउँबाट दर्शनार्थी सवारीसाधन पूजा गर्ने लक्ष्यका साथ चुरियामाई आएका छन् ।
मकवानपुर जिल्लाको पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौँडाबाट वीरगन्ज जाने मार्गको छेउमा चुरे पर्वत शृङ्खलामा चुरियामाई मन्दिर अवस्थित छ । यो मन्दिरलाई विशेषतः यातायातकी देवीका रुपमा पूजाआजा गर्ने गरिने सो मन्दिरका पुजारी दीलिप नगरकोटीले बताए। नयाँ सवारीसाधन किनेपछि यहाँ आएर दर्शन गरी पूजा गरेमा राम्रो हुने जनविश्वास रहेको यातायात व्यसायी कैलाश थापाले बताए । त्यसैले हेटौँडा तथा त्यस आसपासका क्षेत्रबाट सवारीसाधन ल्याएर पूजा गर्न आउने चलन कायमै छ ।
चुरे पर्वत शृङ्खलामा रहेकाले यसको चुरियामाई नामकरण गरिएको यहाँका ज्येष्ठ नागरिक बताउँछन् । हेटौँडा बजारबाट करिब १३ किलोमिटर दक्षिणतर्फ अर्थात् वीरगन्ज जाने पूर्व-पश्चिम राजमार्गको बायाँतर्फ चुरे पहाडको फेदीमा रहेको यो मन्दिरमा दिनहुँ भक्तजनको घुइँचो लाग्छ ।
बूढापाकाका अनुसार यसअघि चुरियामाईको मूर्ति चुरे पर्वतको टुप्पोमा रहेकामा राणा प्रधानमन्त्री चन्द्र शमशेर राणाको पालामा भक्तजनलाई पूजाअर्चना गर्न सुविधा होस् भनेर चुरे पर्वतको टुप्पोबाट हालको फेदीमा ल्याई स्थापना गरिएको हो । राणाकालीन इतिहासको जीवन्त साक्षीका रूपमा रहेको यस मन्दिरले धार्मिक पर्यटनलाई जोड्ने काम गरिरहेको स्थानीयवासी बताउँछन् ।
मन्दिरमा आकर्षक र कलात्मक शैलीको कालो प्रस्तरको चुरियामाईको मूर्ति छ । वरपर गणेशसहित विभिन्न देवीदेवताका मूर्ति छन् । दर्शनार्थीको घुइँचोलाई व्यवस्थित गर्नका लागि फलामेबारलाई व्यवस्थित गरिएको छ । साथै पूर्व-पश्चिम राजमार्गको चोकबाट उक्लनुपर्ने करिब १० मिनेटको सिँढी बाटोलाई व्यवस्थित गरिएको छ । मन्दिरसम्म उक्लदा यहाँको मनोरम प्राकृतिक सौन्दर्यताले जोकोहीलाई लोभ्याउने गरेको छ । मन्दिर परिसरमा रहेको सुरुङमार्ग पनि यहाँको अर्को आकर्षण हो ।
विसं १८७२ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा निर्माण सुरु भई १८७४ सालमा सम्पन्न भएको चुरियामाई सुरुङमार्ग तत्कालीन हेटौँडा-अमलेखगञ्ज रेलमार्गअन्तर्गत निर्माण गरिएको ऐतिहासिक सम्पदा हो । करिब दुई वर्ष लगाएर सुरुङमार्ग निर्माण गरिएको हो । यसको नेतृत्व सिभिल इन्जिनियर स्व डिल्लीजङ्ग थापाले गरेका थिए । उनको सम्मानमा चुरियामाई मन्दिर परिसरमा सालिक निर्माण गरिएको छ ।
चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिका सदस्य रामकुमार पुलामीका अनुसार मन्दिर आउने दर्शनार्थीले यहाँस्थित सुरुङमार्गका बारेमा चासोका साथ जान्ने, बुझ्ने र अवलोकन गर्ने गरेका छन् । यसअघि हेटौँडा उपमहानगरपालिकाले संरक्षण र सञ्चालन गर्दै आएको सुरुङमार्गको संरक्षण, सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी हाल चुरियामाई मन्दिर तथा सुरुङ संरक्षण एवं व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।
सम्झौताअनुसार समितिले सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनसँगै नियमित रेखदेख, सरसफाइ, मर्मतसम्भार, पर्यटक व्यवस्थापन तथा आवश्यक पूर्वाधार सञ्चालनको जिम्मेवारी निर्वाह गरिरहेको समितिका सदस्य पुलामीले जानकारी दिए ।
सुरुङ अवलोकनका लागि आउने पर्यटकबाट उपमहानगरले निर्धारण गरेको शुल्क संकलन गर्न सकिने व्यवस्था गरिएको छ भने संकलित रकम सुरुङको संरक्षण, सञ्चालन तथा व्यवस्थापनमा खर्च गर्नुपर्ने प्रावधान छ । लामो समयसम्म प्रयोगविहीन रहेको उक्त सुरुङको बागमती प्रदेश सरकारले स्तरोन्नति गरी संरक्षण र व्यवस्थापनका लागि हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गरेको हो ।
‘हेटौँडा उपमहानगरपालिका चुरियामाई सुरुङ सञ्चालन कार्यविधि, २०८१’ अनुसार करिब ५०० मिटर लामो सुरुङमार्ग अवलोकनका लागि विभिन्न किसिमको शुल्क तय गरिएका समितिले जनाएको छ । निर्धारित शुल्कअनुसार पाँच वर्ष उमेरसम्मका लागि निःशुल्क व्यवस्था गरिएको छ भने नेपाली नागरिकका लागि ५० रुपैयाँ, विद्यार्थीका लागि १० रुपैयाँ, विदेशी पर्यटकका लागि १०० रुपैयाँ शुल्क तय गरिएको छ । चलचित्र, वृत्तचित्र, म्युजिक भिडियो निर्माणका लागि रु एक हजार शुल्क निर्धारण गरिएको छ ।