काठमाडौं - स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ ।
इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न गइरहेको पिंकवाक आगामी असोज १७ गते शनिवार (अक्टोबर ३, २०२६), बिहान ६ बजे शुरु हुनेछ । यस अन्तर्गत सहभागीहरूले बसन्तपुरस्थित काठमाडौं दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा गर्नु हुनेछ ।
पिंकवाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति तथा प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ ।
स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारका विषयमा समुदायमा सचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ । साथै, क्यान्सर उपचार तथा पुनःस्थापनाको क्रममा रहेका व्यक्ति र परिवारलाई सामाजिक तथा भावनात्मक सहयोग आवश्यक रहेको सन्देश पनि कार्यक्रममार्फत प्रवाह गरिनेछ ।
इन्फिनिट केयर्सका तर्फबाट दिजुप तुलाधर (इकाई प्रमुख) ले पिंकवाकलाई केवल पदयात्रामा सीमित नभई सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभियानका रूपमा अघि बढाउन खोजिएको बताए ।