जनकपुरधाम- धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
यही भदौ १८ गते अपहरणमा परेका धनुषाको बिदेह नगरपालिका-६ कमलेश महतोको १५ महिने छोरा सिद्धान्त महतोलाई गए राति सोही नगरपालिका-१ स्थित दशगज्जा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो ।
बच्चालाई छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका–९ पुनितादेवी पासवानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए । बच्चा अपहरणमा परेको सूचना पाए लग्तैबाट तालिम प्राप्त कुकुरसहित प्रहरीको टोलीले खोजतलाश अनुसन्धान गर्दै जाँदा बच्चा राखेको ठाउँमा प्रहरी पुगेपछि बच्चालाई छोडेर भाग्न खोज्दा ती महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सकुशल उद्धार गरिएका बच्चालाई अभिभावकको जिम्मा लगाइएको छ भने पक्राउ परेकी महिलामाथि अपहरण, शरीर बन्धक, मानव बेचबिखन तथा ओसारपोसारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गराइ थप अनुसन्धान भइरहेको जानकारी दिइएको छ ।