एएफपी- खाडी राष्ट्रहरूले आफ्नो सुरक्षाका लागि संयुक्त राज्य अमेरिका वा अन्य अन्तरराष्ट्रिय गठबन्धनमा मात्र निर्भर रहन नसक्ने र सुरक्षा क्षेत्रमा अझ बढी आत्मनिर्भर बन्नुपर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले सोमबार बताएका छन् ।
संयुक्त अरब इमिरेट्स (यूएई) को राजधानी आबुधाबीमा आयोजित ‘हिली फोरम’ मा बोल्दै प्रवक्ता माजिद अल–अन्सारीले खाडी क्षेत्रमा अन्तरराष्ट्रिय सेनाको उपस्थिति र अमेरिकासँगको रणनीतिक गठबन्धन महत्वपूर्ण भए पनि त्यसले मात्र क्षेत्रको सुरक्षा सुनिश्चित गर्न नसक्ने बताए ।
“हामीलाई हाम्रा साझेदार र सहयोगीहरूको आवश्यकता छ । तर आफ्नो सुरक्षाका लागि हामी उनीहरूमा मात्र निर्भर रहन सक्दैनौँ”, उनले भने। उनका अनुसार सुरक्षा क्षेत्रमा आत्मनिर्भरता नै अघि बढ्ने मुख्य बाटो हो ।
कतार अमेरिका–इरान द्वन्द्वमा प्रमुख मध्यस्थकर्ताका रूपमा सक्रिय रहँदै आएको छ । यस क्रममा उसले आफ्ना ऊर्जा पूर्वाधारलाई लक्षित गरी इरानबाट भएका आक्रमणसमेत सामना गरेको छ । सानो तर धनी ग्यास उत्पादक राष्ट्र कतारले मध्यपूर्वमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य आधारमध्ये एकलाई आश्रय दिँदै आएको छ । द्वन्द्वका क्रममा इरानले अमेरिकी आक्रमणको जवाफमा अमेरिकी सैन्य आधार तथा क्षेत्रका ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै आक्रमण गरेको छ ।
छ महिनादेखिको द्वन्द्वपछि अमेरिका र इरान गतिरोधमा पुगेका छन् । इरानले रणनीतिक महत्वको हर्मुज जलसन्धिमा जहाज आवतजावतमा अवरोध पुर्याइरहेको छ भने अमेरिकाले इरानी बन्दरगाहमाथि नाकाबन्दीको दबाब बढाइरहेको छ ।गत महिना मध्यस्थता प्रयासस्वरूप कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानी तेहरान पुगेका थिए। त्यसअघि हर्मुज जलसन्धिसँग सीमा जोडिएका इरान र ओमानले अस्थायी समुद्री मार्ग (सिपिङ करिडोर) सञ्चालन तथा जलसन्धिमा रहेका बारुदी सुरुङ हटाउने विषयमा छलफल गरिरहेको बताएका थिए ।