काठमाडौं– भदौ १० गतेको भोटेकोशी बाढीपछि लेदो पसेर थुनिएको माथिल्लो त्रिशूली–३ ‘ए’ बाट शुक्रबार बिहान उद्धार टोलीले दुई जनालाई सकुशल उद्धार गरेको छ। बाढी आएदेखि सम्पर्कविहीन भएका मेकानिकल फोरम्यान सञ्जय साह र मेकानिकल सुपरभाइजर कबिर महर्जनलाई १० पछि बाहिर निकालेको हो।
साह र महर्जन अहिले काठमाडौंको छाउनीस्थित सैनिक अस्पतालमा उपचाररत छन्। उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ। यो जलविद्युत् आयोजनामा ४२ जना फसेको बताइएको छ। जसमध्ये साह र महर्जनको जीवितै उद्धार हुँदा एक जनाको भने शुक्रबार नै शव निकालिएको छ।
शुक्रबार उद्धारपछि अस्पताल भर्ना भएका साहले सुरुङमा ४५ जना रहेको आफूले सुनेको बताए। ‘१० गते बिहान १० बजेको थियो। ठूलो एक्सिडेण्ट भयो ड्याममा। मैले सबैलाई भाग्न भनेँ, त्यसैले मलाई समय लाग्यो। अरूबेला त्यहाँ चार–पाँच जना हुने भए पनि यतिबेला भने ४०–४५ जना थिए,’ साहले भने।
कोइलाडी–८ सप्तरी स्थायी ठेगाना भएका ३० वर्षीय साहले माथिल्लो त्रिशूली–३ ‘ए’ मा र काठमाडौंको बालकुमारी–३ घर भएका ४५ वर्षीय महर्जन जलविद्युत् स्वचालन परियोजनामा काम गरिरहेका थिए। सञ्चालनमा रहेको ६० मेगावाटको यो परियोजना बन्द गरी समग्र मर्मत (ओभरहलिङ) को काम भइरहेको थियो। त्यसो हुँदा विद्युत्गृहमा नदीबाट पानी छिर्ने सुरुङ बन्द गरिएको थियो।
बेपत्ता अरू पनि जीवितै भेटिने आशा
साह र महर्जनको उद्धारपछि थप कर्मचारी पनि भेटिने आशा उद्धारकर्मीहरुले गरेका छन्। गत शनिबारदेखि उद्धारमा खटिएको जियोटेक्निकल इञ्जिनियर उदयराज न्यौपाने भित्र विभिन्न कोठामा अझै मानिसहरु जीवितै रहेको हुनसक्ने बताउँछन्। ‘उहाँहरु छिटो भेटिनुमा उहाँहरु योङ पनि हुनुहुन्छ। खोज्नलाई अघि बढ्नु भएर होला। भित्र अरू पनि हुनुहुन्छ होला। भित्र विभिन्न च्याम्बर हुन्छ। पानीले नक गर्दा कोठा खोल्न गाह्रो हुन्छ। चिसो पानीमा आत्तिएको अवस्थामा पनि हुनुहुन्छ होला,’ इञ्जिनियर न्यौपानेले भने।
बाढीपछि १३ जलविद्युत् आयोजना र त्यसमा कार्यरत करिब एक हजार कर्मचारी सम्पर्कविहीन भएका थिए। चिलिमे जलविद्युत् आयोजना र रसुवागढी जलविद्युत् आयोजनामा भने अझै पनि उद्धारको प्रतीक्षा कायम छ। रसुवागढी आयोजनाका ९३ जना कर्मचारी सम्पर्कविहीन छन्। उनीहरुमध्ये तीनदेखि १४ जनासम्म भूमिगत विद्युत्गृहभित्र फसेको प्राधिकरणको अनुमान छ।
यस्तै, चिलिमे जलविद्युत् आयोजनाका छ जना कर्मचारी भूमिगत विद्युत्गृहमा फसेको आकलन छ। उनीहरूको उद्धारका लागि नेपाली र भारतीय सेनाको टोलीले पहुँचमार्ग खुलाइरहेको छ। मेसिनरी उपकरण लगेर सफाइ गर्न असम्भव भएपछि भारतीय सेनाको ‘नेसनल डिजास्टर फोर्स’ले विद्युत्गृहसम्म पुग्ने बाटो छिचोल्न काम गरिरहेको छ।
बाढीपछि चिलिमेको निकास सुरुङ (टेलरेस टनेल) जमिनको सतहभन्दा धेरै मुनि पुरिएकाले उद्धार कठिन भइरहेको छ। हिलो र लेदोको कारण कतिपय ठाउँमा सतह १० मिटरसम्म बढेको छ।
परिवारजनमा रौनक
सुरुङबाट उद्धारको खबर सुनेपछि सञ्जयका बुबा रामफल साह सप्तरीबाट काठमाडौं आइपुगेका छन्। रामफलले छोरा सकुशल देखेपछि निकै खुसी लागेको बताए। यद्यपि, आमा भने छोरा सुरुङमा फसेदेखि बिरामी रहेको रामफलले बताए। ‘छोरा सुरुङभित्र परेको सुनेर हामीले घरमा पूजापाठ र प्रार्थना जारी राख्यौं। अहिले सकुशल काठमाडौं आइपुगेको छ। सरकारलाई हाम्रो धेरै धेरै धन्यवाद छ,’ रामफलले भने।
यता कबिरकी श्रीमती हीराशोभाले पनि उद्धार टोलीलाई धन्यवाद दिएकी छन्। सुरुमा श्रीमान्ले आफूलाई नचिनेको तर पानी खुवाएपछि चिनेको हीराशोभाले बताइन्। ‘मलाई के भएको भनेर सोध्नुभयो। मैले पानी ख्वाएपछि बल्ल टाउको हल्लाएर चिनेँ भन्नुभयो। सबै राम्रो छ भनेर डाक्टरले भन्नुभएको छ। उद्धार टोलीलाई धेरै धेरै धन्यवाद,’ हीराशोभा महर्जनले भनिन्।
कसले के भने?

म कन्ट्रोल रुममा काम गर्थें। १० गते बिहान १० बजेको थियो। ठूलो एक्सिडेन्ट भयो ड्याममा, मैले सबैलाई भाग्न भनेँ। त्यसैले मलाई समय लाग्यो। अरूबेला त्यहाँ चार–पाँच जना हुने भए पनि यतिबेला भने ४०–४५ जना थिए। मेरो रेस्पोन्सबिलिटी सबैको ज्यान बचाउनु थियो। एक्सिडेन्ट भएपछि म एक्लै भागेर भएन, सबैलाई बचाउनुप¥यो। अन्तिममा म निस्किनै पाइनँ। हाम्रो छेउछाउ तीन–चार जना सम्पर्कमा हुनुहुन्थ्यो। पावर हाउसमा अरू पनि मान्छे हुनुहोला। सुरुङ लामो छ। म महामन्त्र जप गरेर बसेको थिएँ।
सञ्जय साह
मेकानिकल फोरम्यान
०००
सञ्जय साह मेरो जेठो छोरा हो। छोरा सुरुङभित्र परेको सुनेर हामीले घरमा पूजापाठ र प्रार्थना जारी राख्यौं। छोराको समाचार सुनेर आमाचाहिँ बेहोसीजस्तै छ। हातमा चोट लागेको छ। सरकारलाई हाम्रो धेरै धेरै धन्यवाद छ।
रामफल साह
सञ्जयका बुवा
०००
मलाई के भएको भनेर सोध्नुभयो। पहिले त बोलचाल भएन। मलाई चिन्नु पनि भएन। मैले पानी ख्वाएपछि बल्ल टाउको हल्लाएर चिनेँ भन्नुभयो। खुट्टामा चोट लागेको रहेछ। पहेलो भएको रहेछ। सबै राम्रो छ भनेर डाक्टरले भन्नुभएको छ। उद्धार टोलीलाई धेरै धेरै धन्यवाद।
हीराशोभा महर्जन
कबिर महर्जनकी श्रीमती
०००
हामीले रातिबाटै खटेर बिहान दुई जनालाई निकालेका हौं। उहाँहरु छिटो भेटिनुमा उहाँहरु योङ पनि हुनुहुन्छ। खोज्नलाई अघि बढ्नुभएर होला। भित्र अरू पनि हुनुहुन्छ होला। भित्र अध्यारो पनि छ। हिलोले भरिएको छ। भित्र विभिन्न च्याम्बर हुन्छ। पानीले नक गर्दा कोठा खोल्न गाह्रो हुन्छ। चिसो पानीमा आत्तिएको अवस्थामा पनि हुनुहुन्छ होला। यसमा प्रहरी र सेना लाग्नुभएको छ। सञ्जयले पाँच–सात जना छन् भन्नुभएको छ।
उदयराज न्यौपाने
जियोटेक्निकल इञ्जिनियर