वासिङ्टन- अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने अमेरिकी अभियान ‘अपरेसन इकोनोमिक आउटकास्ट’ मा युरोपेली सङ्घ (इयु) औपचारिक रूपमा सहभागी भएको बताएका छन्। पश्चिम एसियामा द्वन्द्व जारी रहेका बेला इरानमाथि दबाब बढाउन इयुको सहभागिता महत्त्वपूर्ण भएको उनले बताएका हुन्।
बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत इयुको निर्णयको स्वागत गर्दै इरानको आणविक तथा हतियार कार्यक्रम र क्षेत्रीय सहयोगी समूहलाई हुने आर्थिक सहयोग रोक्न अमेरिका सहयोगीसँग मिलेर अघि बढ्ने बताए।
इयुले इरानलाई आणविक तथा ब्यालेस्टिक क्षेप्यास्त्र कार्यक्रम रोक्न, क्षेत्रीय अस्थिर गतिविधि अन्त्य गर्न तथा आफ्ना जनतामाथिको हिंसा र दमन रोक्न आग्रह गर्दै आएको जनाएको छ। इरानमाथि थप आर्थिक दबाबका उपायमा सहकार्य गर्ने भए पनि शान्ति, तनाव न्यूनीकरण र क्षेत्रीय स्थिरताका लागि कूटनीतिक प्रयासलाई प्राथमिकता दिनुपर्ने इयुको भनाइ छ।
अमेरिकाले गत महिना सुरु गरेको उक्त अभियानको उद्देश्य इरानलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट अलग गर्नु र उसको आम्दानीका स्रोत सीमित गर्नु रहेको बेसेन्टले बताउनुभएको थियो। अमेरिकी अर्थ मन्त्रालयले इरानको तेल कारोबार तथा प्रतिबन्ध छल्ने सञ्जालसँगै डिजिटल सम्पत्ति, प्रविधि र ढुवानीसम्बन्धी गतिविधिलाई समेत लक्षित गरेको छ।
इयुले इरानमाथि दबाब कायम राख्दै अमेरिका, जी-७ र अन्य अन्तर्राष्ट्रिय साझेदारसँग सहकार्य जारी राख्ने जनाएको छ। साथै, हर्मुज जलघाँटीमा सुरक्षित नौवहन तथा क्षेत्रीय स्थिरताका लागि कूटनीतिक प्रयास आवश्यक रहेको उसले बताएको छ।