काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सङ्घीय संसदीय दलका सचेतक प्रकाशचन्द्र परियारले भोटेकोशी बाढीका विषयमा जलवायु न्यायका लागि अन्तरराष्ट्रिय मञ्चमा कूटनीतिक पहल गर्न सरकारसमक्ष आग्रह गरेका छन्।
सभाको विशेष समयमा उनले भोटेकोशीमा गएको अकल्पनीय बाढी सामान्य प्राकृतिक विपद् मात्र नभई विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष र घातक परिणाम भएको बताए। उनले भने, “विश्वव्यापी कार्बन उत्सर्जनमा नेपालको योगदान शून्य छ तर यसको असन्तुलित र घातक मूल्य नेपाली नागरिकहरू भोग्नु परेको छ।” उनले नेपालले अब अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु अधिकारका रूपमा ‘जलवायु न्याय’ माग्नुपर्ने स्पष्ट पारे।
त्यसैगरी बैठकमा नेपाली कांग्रेसका सांसद रेनुका काउँचाले सुरुङभित्र फसेका नागरिकको उद्धार गर्न सरकार जिम्मेवार हुनुपर्ने धारणा राखिन् । उनले भारतलगायत विभिन्न देशमा समेत प्रलयमा परेर सुरुङमा फसेका नागरिकको उद्धार गरिएको उदाहरण पनि सुनाइन् ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद गङ्गादेवी श्रेष्ठले भोटेकोशी बाढीमा बेवारिसे भएका बालबालिकाको अभिभावक राज्य हुनुपर्ने बताइन् । उनले उनीहरूको सुरक्षा, स्वास्थ्य, शिक्षामा सरकारले दायित्वबोध गर्नुपर्ने सुनाइन् ।