कायरो- इजिप्टको पूर्वी सिनाई प्रायद्वीपमा बुधबार भएको बस दुर्घटनामा १६ जनाको मृत्यु हुनुका साथै २८ जना घाइते भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
इजिप्टको दक्षिण सिनाईको पूर्वी तटमा रहेको पर्यटकीय सहर दहाब र नुवेइबाको बीचको सडकमा भएको दुर्घटना स्थलमा उद्धारका लागि २० वटा एम्बुलेन्स पुगिसेको मन्त्रालयले जनाएको छ।
दुर्घटनाको कारण नखुलाई अधिकारीहरूले घाइतेहरूलाई चिकित्सा उपचार भइरहेको बताएका छन्। यो क्षेत्र एक लोकप्रिय पर्यटन गन्तव्य हो, जुन समुद्री जैविक विविधता, प्राकृतिक सौन्दर्य र पाहाडी पैदल यात्राका लागि परिचित छ।
लापरवाही पूर्ण ड्राइभिङ, खराब मर्मतसम्भार र असमान कानून प्रवर्तन लागाएतका कारण इजिप्टमा बारम्बार सवारी दर्घटना हुने गरेको जनाइएको छ। इजिप्टको तथ्याङ्क एजेन्सीका अनुसार गत वर्ष देशभर सडक दुर्घटनामा करिब छ हजार मानिसको मृत्यु भएको थियो।