काठमाडौं- त्रिशूली नदीको कटानका कारण पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित भएपछि काठमाडाैं-हेटौँडा जोड्ने वैकल्पिक मार्गको नयाँ रुट तथा कार्यतालिका सार्वजनिक गरिएको छ । वर्षाद्को समय र सडकको अवस्थालाई ध्यानमा राख्दै काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वैकल्पिक रुट निर्धारण गरिएको हो
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडाैंबाट हेटौँडाका लागि छुट्ने साना सवारीका लागि फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदीको रुट कायम गरिएको छ । त्यस्तै, हेटौँडाबाट काठमाडाैं छुट्ने साना सवारी भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै काठमाडाैं प्रवेश गर्नेछन् ।
यसैगरी, ठूला तथा मालवाहक सवारी काठमाडाैंबाट चापागाउँ-भट्टेडाँडा-ठिङ्गन हुँदै हेटौँडा पुग्नेछन् । उक्त रुट प्रयोग गर्ने सवारीले साँझ ६ः०० बजेभित्र ठिंगन चेकपोस्ट पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ । हेटौँडाबाट छुट्ने ठूला तथा मालवाहक सवारीका लागि भैँसे-पालुङ-टिस्टुङ-नौबिसे हुँदै काठमाडाैं आउने व्यवस्था मिलाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
मकवानपुरको त्रिखण्डी नजिकको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेकाले इन्धन बोकेका ट्यांंकर तथा भारी मालवाहक सवारीलाई उक्त पुल प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।भारी मालवाहक सवारीका लागि बेलिब्रिजको छेउमै रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको प्रवक्ता सुवेदीले जानकारी दिए।