काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी नदीमा यही भदौ १० गते गएको भीषण बाढीलगत्तै सुरक्षाकर्मीहरूलाई खोज, उद्धार, उपचार र राहत कार्यमा परिचालन गरिएको जानकारी गराएका छन्। प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले बाढी गएको दिन बिहान ८ः४५ बजे सूचना प्राप्त हुनासाथ जिल्ला विपद् व्यवस्थापन समितिबाट ‘ब्रिफिङ’ लिएर सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको जानकारी गराए।
उनले सोही दिन बिहान ९ः०० बजे तटीय क्षेत्रका बस्तीहरूमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमार्फत सुरक्षित स्थानमा जान आग्रह गरेको र बिहान ९ः१५ बजे परिस्थितिलाई ध्यान दिँदै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बोलाएको बताए। “प्रभावित क्षेत्रका मानिसहरुलाई कसरी उद्धार गर्ने भन्ने निर्णयहरू भए। बिहान ९ः३५ बजे टेलिकम कम्पनीमार्फत प्रभावित क्षेत्रका नागरिकको मोबाइलमा सतर्कताको सूचना पठायौँ”, प्रधानमन्त्री शाहले भने, “बिहान ९ः४५ बजे नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि उड्यो। त्यो उद्धारका लागि पहिलो हवाई उडान थियो। तुरुन्तै निजी हेलिकप्टरहरूलाई पनि ‘स्ट्याण्डबाई’ राख्यौँ।”
घट्नाका दिन बिहान १०ः०० बजे ‘नेपाली सेनाको मनसुन कमाण्ड पोष्ट’को आकस्मिक बैठक बसेको र प्रभावित क्षेत्रमा खोज, उद्धार तथा स्रोत परिचालन गर्ने निर्णय भएको उनको भनाइ थियो। “बिहान १०ः३० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा ‘सर्च एन्ड रेस्क्यु तथा इमरजेन्सी रेस्पोन्स टिम’ तयारी अवस्थामा राख्यौँ। काठमाडौँलगायत अन्य जिल्लाबाट समेत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीलाई खोज, उद्धार, उपचार र राहत कार्यमा परिचालन गरियो”, उनले भने।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसी सुरक्षा निकायका प्रमुखहरूलाई प्रभावित क्षेत्रमा मानिसहरु संकटमा परेको र जसरी पनि खोज, उद्धार र उपचारलाई प्राथमिकता दिन निर्देशन दिएको उनले बताए। प्रधानमन्त्री शाहले थप हेलिकप्टर र ड्रोन टोली परिचालन गर्नसमेत सम्बन्धित निकायहरूलाई निर्देशन दिएको बताउँदै मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएर प्रभावित क्षेत्रमा खोज, उद्धार र उपचारलाई तीव्र बनाउने निर्णय गरेको जानकारी गराए।
“साथै, १५ वटा प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने, मृतकका परिवारलाई कानुनबमोजिमको आर्थिक सहायता तत्काल उपलब्ध गराउने, घाइते एवं बिचल्लीमा परेका व्यक्तिलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने र यस कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने निर्णय गरियो”, उनले भने।
प्रधानमन्त्री शाहले घाइतेहरूको तत्कालै निःशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूलाई निर्देशन दिने, घर-निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने–बस्ने व्यवस्था मिलाउने, अवरुद्ध हुन पुगेको विद्युत् आपूर्ति, दूरसञ्चार, सडक, खानेपानीलगायतका सेवा तत्कालै सञ्चालनको व्यवस्था मिलाउने निर्णय भएको समेत सभालाई जानकारी गराए।