एशभिल- जी-२० का अर्थमन्त्री तथा केन्द्रीय बैंकका अधिकारीहरूको दुईदिने बैठक मंगलबार अमेरिकाको नर्थ क्यारोलिनास्थित एशभिलमा सम्पन्न भएको छ। बैठकमा अधिकांश सदस्य राष्ट्रले अध्यक्षको वक्तव्यलाई पूर्ण रूपमा समर्थन गरे पनि रूसको सहभागिता, मध्यपूर्वको जारी युद्ध, व्यापार असन्तुलन तथा युक्रेनलाई सहयोगलगायत विषयमा मतभेद देखिएका छन्।
बैठकमा रुसी अर्थमन्त्री एन्टोन सिलुआनोभको सहभागितालाई लिएर युक्रेनका साझेदारहरूले असन्तुष्टि व्यक्त गरेका थिए। अमेरिकाले रुसी प्रतिनिधिलाई बैठकमा सहभागी गराएपछि केही युरोपेली अधिकारीहरूले अन्तर्राष्ट्रिय मञ्चमा रूसको सहभागितालाई सामान्य रूपमा स्वीकार गर्ने समय नभएको बताएका थिए।
तर अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले रुसी अर्थमन्त्रीको उपस्थितिले बैठकका छलफलमा कुनै उल्लेखनीय प्रभाव नपारेको दाबी गरे। अधिकांश सहभागीले अध्यक्षको वक्तव्यलाई समर्थन गर्नुले पनि रूसको सहभागिताले बैठकको परिणाममा असर नपारेको देखाउने उनको भनाइ छ।
बेसेन्टले विभिन्न पक्षसँग संवाद कायम राख्नु आवश्यक रहेको उल्लेख गर्दै बैठकमा सहभागी रुसी अर्थमन्त्री सिलुआनोभमाथि अमेरिकी प्रतिबन्ध नरहेको पनि बताए। क्यानडाका अर्थमन्त्री फ्राँस्वा-फिलिप श्याम्पेनले सिलुआनोभको सहभागिताले केही असहजता सिर्जना गरेको स्वीकार गरे। युरोपेली संघका अर्थसम्बन्धी प्रमुख भाल्डिस डोम्ब्रोभ्स्किसले रूसको सहभागितालाई लिएर आपत्ति जनाउँदै युक्रेनमा जारी युद्धको अवस्थामा रूसको उपस्थितिलाई अन्तर्राष्ट्रिय बैठकहरूमा सामान्य बनाउनु उपयुक्त नहुने बताएका छन्।
उनका अनुसार रूसको सहभागिताका कारण आक्रामक युद्ध सञ्चालन गरिरहेको सरकारका प्रतिनिधिसँग संवेदनशील आर्थिक विषयमा छलफल गर्नुपर्ने अवस्था उत्पन्न हुन्छ। बैठकको अध्यक्षको वक्तव्यमा होर्मुज जलडमरूमध्यबाट स्वतन्त्र, सुरक्षित र पूर्वानुमान गर्न सकिने ढंगले जलयातायात सञ्चालन सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ। यद्यपि, चीनले वक्तव्यको उक्त अंशमा समर्थन जनाएको छैन।
मध्यपूर्वमा जारी युद्धका कारण होर्मुज जलडमरूमध्यको अवस्था थप संवेदनशील बनेको छ। फेब्रुअरीको अन्त्यतिर अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले उक्त महत्वपूर्ण जलमार्गमा आवागमनमा ठूलो अवरोध सिर्जना गरेको बताइएको छ।
बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार तथा भन्सार नीतिले पनि चर्चा पाएको थियो। अमेरिकाले यस वर्ष जी-२० को घुम्ती अध्यक्षता गरिरहेको छ र वासिङ्टनले इरानमाथि लगाइएका प्रतिबन्धका विषयमा साझेदार राष्ट्रहरूको समर्थन जुटाउने तथा विश्वव्यापी व्यापार असन्तुलन घटाउने विषयमा समेत छलफल अघि बढाएको छ।
रूसले इरानलाई दिइरहेको सहयोगका विषयमा अमेरिकाले मस्कोसँग छलफल गरेको छ कि छैन भन्ने प्रश्नमा बेसेन्टले केही कूटनीतिक विषय प्रत्यक्ष रूपमा सार्वजनिक नगरी निजी संवादमार्फत अघि बढाउनु उपयुक्त हुने बताएका छन्।
चीनको व्यापार असन्तुलनसम्बन्धी असहमति
जी-२० बैठकमा विश्वव्यापी आर्थिक असन्तुलनको विषयमा पनि सदस्य राष्ट्रहरूबीच मतभेद देखिएको छ। अध्यक्षको वक्तव्यमा ‘अत्यधिक र दीर्घकालीन असन्तुलनले जोखिम सिर्जना गर्न सक्ने तथा आर्थिक विकृति निम्त्याउन सक्ने’ उल्लेख गरिएको छ।
वक्तव्यले गैर-बजारमुखी नीतिका कारण उत्पन्न हुने असन्तुलन कम गर्न आवश्यक कदम चाल्न सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ। यो विषय चीनको औद्योगिक उत्पादन क्षमतासँग सम्बन्धित अन्तर्राष्ट्रिय आलोचनासँग जोडिएको छ। चीनमा अत्यधिक औद्योगिक उत्पादनले विश्व बजारमा अनुचित प्रतिस्पर्धा बढाएको र वस्तुको मूल्यमा दबाब सिर्जना गरेको भन्दै विभिन्न देशले चिन्ता व्यक्त गर्दै आएका छन्।
क्यानडाका अर्थमन्त्री श्याम्पेनले विश्वव्यापी आर्थिक असन्तुलन अहिलेको अवस्थामा दीर्घकालीन रूपमा कायम रहन नसक्ने बताउनुभएको छ। उनले यसको समाधानका लागि सबै सम्बन्धित देशहरूबीच सामूहिक छलफल र सहकार्य आवश्यक रहेको बताए।
युक्रेनको विषय पनि प्राथमिकतामा
जी-२० बैठकको पृष्ठभूमिमा युक्रेनलाई निरन्तर सहयोग गर्ने विषयमा पनि छलफल भएको छ। यस विषयमा जी-७ का सदस्य राष्ट्रहरूले छुट्टै बैठकमार्फत युक्रेनको अवस्थाबारे विचारविमर्श गरेका थिए।
जर्मनीका अर्थमन्त्री लार्स क्लिङबाइलले युक्रेनमा नागरिकमाथि हुने क्षेप्यास्त्र आक्रमण बढिरहेको भन्दै त्यसप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनले युक्रेनसम्बन्धी विषयमा आफू र अन्य युरोपेली अर्थमन्त्रीहरूले आफ्नो धारणा स्पष्ट रूपमा प्रस्तुत गरेको बताए।
उनका अनुसार युक्रेनमा जारी आक्रमणको अवस्था अन्त्य गर्न आवश्यक कदम चालिनुपर्छ। जी-७ का नेताहरूले सोमबार गरेको छलफलमा युक्रेनका अर्थमन्त्री पनि भर्चुअल माध्यमबाट सहभागी भएका थिए। छलफलमा युक्रेनलाई आर्थिक तथा अन्य आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने विषयमा विचारविमर्श भएको थियो।
यसैबीच, जर्मनीले मंगलबार रूसमाथि गत महिना एक रणनीतिक विमानस्थलमा ड्रोनसँग सम्बन्धित घटनामार्फत ‘हाइब्रिड आक्रमण’को प्रयास गरेको आरोप लगाउँदै कूटनीतिक प्रतिकारका उपायहरू घोषणा गरेको छ। जी-२० मा १९ देशसँगै युरोपेली संघ र अफ्रिकी संघ सदस्य छन्। सन् १९९७-९८ को एसियाली वित्तीय संकटपछि विश्वव्यापी आर्थिक तथा वित्तीय स्थायित्व प्रवद्र्धन गर्ने उद्देश्यले जी-२० स्थापना गरिएको थियो।
एशभिलमा सम्पन्न अर्थमन्त्रीस्तरीय बैठकले आगामी डिसेम्बरमा अमेरिकाको मियामीमा आयोजना हुने जी-२० राष्ट्र तथा सरकार प्रमुखहरूको शिखर सम्मेलनका लागि समेत आधार तयार गरेको छ। उक्त सम्मेलन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गर्नेछन्