चितवन- रसुवा बाढीले सडकको फेदमा कटान गरेपछि पृथ्वी राजमार्गको नौबिसे-मलेखु सडक खण्डमा तीन ठाउँमा सडक भाँसिएको छ ।मुग्लिनबाट २३ किलोमिटर काठमाडाैंतर्फ पर्ने कृष्णभीरमा त्यसबाट सबैभन्दा बढी क्षति पुगेको छ । नागढुङ्गा-मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इञ्जिनियर शचेन्द्र मिश्रका अनुसार कृष्णभीरमा झण्डै २०० मिटर सडक भासिएको छ । सडकको भित्तोको डाँडासमेत चिरिएको छ ।
मलेखुबाट तीन किलोमिटर मुग्लिनतर्फ पर्ने सीतल बजारमा पनि सडक ५० मिटर हाराहारी भासिएको छ । मलेखु पुलबाट एक किलोमिटर काठमाडाैंतर्फ परेवाभीरमा पनि १०० मिटर सडकको छेउ भासिएको छ । यस खण्डका प्रमुख डिभिजनल इञ्जिनियर सजना अधिकारी अहिले त्रिशूली नदीले कृष्णभीर लगायतका ठाउँमा कटान जारी नै रहेको बताए ।
गेग्रानसहितको बाढीले कृष्णभीरमा नदी किनारमा लगाइएको रिटेनिङ वाल नै बगाएको छ । अहिले पानीको बहावले हानी रहेको छ । नदीको सतह घट्ने र बढ्ने भइरहेको भन्दै उनले सडकको फेदमा कटान गरिरहेको बताए । चट्टान भएको ठाउँमा क्षति पुर्याउन नसकेकाता कमजोर ठाउँमा नदीले कटान गरिरहेको इञ्जिनियर अधिकारी बताए ।
यस वर्ष त्रिशूलीले धार परिवर्तन गरेर वल्लो छेउको सडकको भित्तोमा केन्द्रित भएको छ । त्यसबाट सडक मुनिको भागमा क्षति पुगेको आयोजनाका इञ्जिनियर मिश्रले बताए। उनले भने, “ठूलो बाढीले धार परिवर्तन गरेर दुवैतर्फ क्षति बनाएको छ ।” कृष्णभीर तत्काल मर्मत सम्भार गर्ने अवस्था छैन । सितल बजारमा भित्तो काटेर सडक सञ्चालन गर्ने तयारी छ ।”
आयोजनाको पूर्वी खण्डका इञ्जिनियर राजिव मानन्धर परेवाभीरमा सडकको नदी पट्टीको भाग भासिएको बताए । १०० मिटर हाराहारी सडक भासिएर कालोपत्रेसम्म झरेको छ । त्यस ठाउँमा थप क्षति र जोखिम हुने भन्दै अत्यावश्यक बाहेकका सवारी रोकिएको छ ।
तलबाट काम गर्न सक्ने अवस्था नभएकाले भित्तो केही काटेर तल सम्याएर साँझसम्ममा सडक सञ्चालन गर्ने तयारी गरिएको छ । सो ठाउँमा भित्तोपट्टी रहेका बिजुलीका पोल सार्ने तयारी गरिएको छ । त्यस खण्डको दुई ठाउँ मर्मत गर्न सकिने भए पनि कृष्णभीर तत्काल सञ्चालन गर्न नसकिने भ पछि गोरखा तर्फबाट वैकल्पिक सडक सञ्चालनका लागि अध्ययन थालिएको छ ।
त्यता तर्फका सडक मध्ये उपयुक्त सडकलाई तत्काल मर्मत सम्भार गरी वैकल्पिक सडक बनाउन लागिएको हो । राजधानीको लाइफलाईनको रुपमा रहेको त्यस सडक हुँदै दैनिक करिब १४ हजार हाराहारी सवारी सञ्चालन हुँदै आएको थियो ।