काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीसम्बन्धी खोज, उद्धार तथा राहतको पछिल्लो तथ्याङ्क (२०८३ भदौ १४ गते साँझ ६:०० बजेसम्म) सार्वजनिक गरेको छ। प्राप्त विवरण अनुसार बाढीका कारण हालसम्म ७८१ जनाको मानवीय क्षति (विभिन्न मानव अङ्गसहित शव फेला) भएको छ भने करिब २,५०२ जना अझै सम्पर्कविहीन रहेका छन्।
मानवीय क्षति र सम्पर्कविहीनको अवस्था
चितवनमा सबैभन्दा बढी २७२ जना, नवलपरासी पूर्वमा १९९ जना, नवलपरासी पश्चिममा १०० जना, धादिङमा ५० जना, नुवाकोटमा ५२ जना, गोरखामा ५८ जना, तनहुँमा ३७ जना र रसुवामा १३ जनाको शव फेला परेको छ।
त्यसैगरी सम्पर्कविहीन हुनेहरूमा जलविद्युत् आयोजनाका ९३३ जना, रसुवाका ५६२ जना, नुवाकोटका ११५ जना, मकवानपुरका ६५ जना, नेपाल प्रहरीका २५ जना, नेपाल सेनाका ४५ जना, सशस्त्र प्रहरीका १३ जना, भन्सारका १५ जना र अध्यागमनका ४ जना रहेका छन्। यस्तै ५९२ जना विदेशी नागरिक, उनीहरूसँगै गएका १२७ जना नेपाली तथा लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना र क्वारेन्टाइन कार्यालयका ३ जना पनि बेपत्ता छन्।
उद्धार तथा घाइतेको विवरण
हालसम्म ९,४३५ जनाको सफलतापूर्वक उद्धार गरिएको छ। जलविद्युत्को सुरुङबाट भदौ १२ गते १९१ जना र भदौ १३ गते ८८ जना गरी २७९ जनालाई निकालिएको छ। नेपाली सेनाले २४४ विदेशी र ३,०६७ नेपाली गरी ३,३११ जनाको हवाई उद्धार गरेको छ (जसमा आज हाइड्रोबाट १५ जना चिनियाँ नागरिक परेका छन्)। हालसम्म ३९४ हवाई उडान (आज मात्रै ७२ उडान) सम्पन्न भएका छन्।
घटनामा हालसम्म २६७ जना घाइते भएकामा १५६ जना डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा ६ वटा सर्जिकल मेडिकल टिम परिचालन गरिएको छ। सुरक्षाका लागि नेपाल प्रहरी (७,८९४), नेपाल सेना (८,५२१) र सशस्त्र प्रहरी बल (४,२०३) गरी कूल २०,६१८ जना सुरक्षाकर्मी खटिएका छन्।
राहत, इन्धन र नगद सहयोग
प्रभावित क्षेत्रमा ३७ ट्रक र ३५ बोलेरोमार्फत खाद्य तथा गैरखाद्य सामग्रीका साथै हेलिकप्टरबाट ८ वटा उडान गरी राहत पठाइएको छ। भदौ १३ गते उत्तरगया र धुन्चेमा २ टन खाद्य सामग्री एवं उद्धार सामग्री पुर्याइएको छ। सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड, धादिङलाई ५० लाख र प्रभावित १५ पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।
प्रभावित क्षेत्रमा हाल २३ हजार लिटर डिजेल, २२ हजार लिटर पेट्रोल र १,५०० लिटर हवाई इन्धन मौज्दात रहेको छ। पहिचान नखुलेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएको छ। विस्तृत विवरणका लागि प्राधिकरणको फेसबुक पेज वा नेपाल प्रहरीको विपद् पोर्टलमा हेर्न सकिनेछ।