नारायणगढ- भोटेकोशी नदीमा आएको बाढीले बगाएर त्रिशूली तथा नारायणी नदीमा ल्याएका शवको तस्बिर खिचेर डिस्प्ले बोर्डमा राखिएको छ । डिस्प्ले बोर्डमा राखिएका तस्बिरका आधारमा अहिलेसम्म दुई शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।
उनका अनुसार बाँकेको कोहलपुर नगरपालिका-११ निवासी २३ वर्षीय कबिरलाल चौधरीको शव दाजु सुग्रिन थारूले पहिचान गरेका छन् । त्यसैगरी, रसुवाको प्रहरी चौकी बेत्रावतीमा कार्यरत तारकेश्वर नगरपालिका-४ नेवारपानी निवासी ४३ वर्षीय रामकाजी पौडेलको शव उनका दाजु सुवास पौडेलले सनाखत गर्नुभएको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए ।
हरी उपरीक्षक पौडेलका अनुसार हालसम्म बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १८६ शव भेटिएका छन् । “भेटिएका शवको पहिचानका लागि सफाइ गरी तस्बिर खिचेर ट्यागसहित ‘डेड बडी ब्याग’मा राखी शव व्यवस्थापन तथा पहिचान केन्द्रमा राखिएको छ । ती शवको तस्बिर केन्द्र नजिकै रहेको चितवन उद्योग सङ्घको परिसरमा राखिएको डिस्प्ले बोर्डमा राखिएको छ”, उनले भने ।
हाल २२ वटा शव व्यवस्थापन तथा पहिचान केन्द्रमा लगिएको जनाउँदै ४० भन्दा बढी शवको तस्बिर डिस्प्ले बोर्डमा देखाइएको प्रहरी उपरीक्षक पौडेलले बताए । अन्य शवको भने भरतपुर अस्पतालमा सफाइ गरी तस्बिर खिच्ने काम भइरहेको उनले जानकारी दिए ।
तस्बिर खिचिएका शवको डिस्प्ले गर्न सुरु गरिएकाले आफन्तले डिस्प्ले बोर्डमा तस्बिर हेरेर शव पहिचान गर्न सक्ने व्यवस्था मिलाइएको उनले बताए । ती शवको तस्बिर नेपाल प्रहरीको पोर्टलमा समेत राखिने र आफन्तले उपलब्ध गराएको मोबाइल नम्बरमा पठाइने उनले जानकारी दिए ।
पहिचानका आधारमा शव बुझ्न आउने व्यक्तिको आधिकारिकता परिचयपत्रलगायत आवश्यक कागजातका आधारमा एकिन गरिने प्रहरी उपरीक्षक पौडेलले बताए । उनका अनुसार शव पहिचान भएपछि पुनः भरतपुर अस्पताल ल्याएर शव परीक्षण गरिनेछ ।
फोरेन्सिक विज्ञको अभाव र गर्मीका कारण शव व्यवस्थापनमा समस्या
त्रिशूली, नारायणी नदी तथा आसपासका क्षेत्रमा भोटेकोशी बाढीले बगाएर ल्याएका सङ्कलित शवको पहिचान र व्यवस्थापनमा भरतपुर अस्पतालमा गम्भीर चुनौती थपिएको छ । पर्याप्त फोरेन्सिक विज्ञको अभाव तथा चितवनको अत्यधिक गर्मी र ओसिलो (ह्युमिड) मौसमका कारण शव कुहिन थालेपछि व्यवस्थापनमा समस्या देखिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा विश्वबन्धु बगालेले जानकारी दिए ।
मेसु डा बगालेले यति धेरै शव सङ्कलन हुने पूर्वतयारी नरहेको बताउँदै जनशक्ति अभावका कारण अन्य अस्पतालसँग सहयोग मागिएको जानकारी दिए । उनले भने, “हामीकहाँ फोरेन्सिक विज्ञको अभाव छ । हामीसँग पूर्वतयारी पनि थिएन । त्यसैले बाँकेको भेरी अस्पताल, नेपाल मेडिकल कलेज काठमाडौँ र स्थानीय मेडिकल कलेजहरूमा पत्राचार गरी फोरेन्सिक विज्ञ तथा सहयोगी कर्मचारी पठाइदिन अनुरोध गरेका छौँ । केही अस्पतालले जनशक्ति पठाइसक्नुभएको छ भने थप विज्ञहरू आउने क्रममा हुनुहुन्छ ।”
मेसु डा बगालेका अनुसार हाल दुईवटा टोली बनाएर शव परीक्षण तथा पहिचानको काम भइरहेको छ भने थप विज्ञहरू आएपछि टोली सङ्ख्या बढाएर कामलाई अझ तीव्र बनाइनेछ । उनले भने, “मानिसको मृत्युपश्चात शरीरमा प्राकृतिक रूपमै परिवर्तनहरू सुरु हुन्छन् । त्यसमाथि चितवनको गर्मी र ओसिलो वातावरणका कारण ‘डिकम्पोजिसन’ (कुहिने क्रम) एकदमै तीव्रगतिमा भइरहेको छ । पूरै शवबाट पहिचान गर्न नसकिए पनि विज्ञद्वारा खिचिएका तस्बिर र विशेष पहिचान चिह्न (आइडेन्टिफिकेसन मार्क) हेरेर आफन्तले पहिचान गर्न सकून् भनेर हामीले यो प्रक्रियालाई छिटोभन्दा छिटो अगाडि बढाएका छौँ ।”
अस्पतालमा बिरामीको चाप उच्च रहेको अवस्थामा यति धेरै शवको व्यवस्थापन गर्नु झनै चुनौतीपूर्ण रहेको मेसु डा बगालेको भनाइ छ । उनले थने, “अस्पतालमा अन्य बिरामीको चाप पनि बढिरहेको छ । पीडित आफन्तहरू अस्पतालमा आउने भएकाले व्यवस्थापनमा गाह्रो हुने भएपछि पहिचान भएका शवलाई छुट्टै स्थानमा ‘कुलिङ’ वातावरण सृजना गरी राख्ने प्रयास गरिरहेका छौँ । सङ्क्रमण वा महामारी फैलिन नदिन अस्पताल प्रशासन अत्यन्त सजग छ र सम्पूर्ण टोली सतर्कताका साथ काममा खटिएको छ ।”
हाल शव पहिचान केन्द्र रहेको स्थान र अस्पतालको परीक्षण गृह रहेको क्षेत्रमा सर्वसाधारणको आवतजावत रोकिएको छ भने दुर्गन्ध र सङ्क्रमण नियन्त्रणका लागि सम्भावित सबै उपाय अपनाइएको अस्पतालका मेसु डा बगालेले बताए ।