काठमाडौं- आज विभिन्न कार्यक्रम आयोजना गरी नेपालमा नवौँ विश्व संस्कृत दिवस मनाइँदै छ । उक्त दिवस हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने गरिन्छ । ‘जरोकिलो प्रतिष्ठान’ नेपालको आह्वानमा विसं २०७५ देखि विश्व संस्कृत दिवस मनाउन सुरु गरिएको हो ।
चान्द्रमासअनुसार श्रावणी पूर्णिमा (ऋषितर्पणी) को दिनमा मनाइने विश्व संस्कृत दिवसको नवौँ संस्करणमा नेपालसहित विश्वका विभिन्न देशमा विविध कार्यक्रमको आयोजना गरी आज मनाउन लागिएको हो । नवौँ विश्व संस्कृत दिवसको मूल समारोह वाल्मीकि विद्यापीठको सभाकक्ष, प्रदर्शनीमार्ग, काठमाडौँमा आयोजना गरिएको विश्व संस्कृत दिवस कार्यपरिषद् (आयोजक समिति) ले जनाएको छ ।
संस्कृत भाषामा नीहित ज्ञानसम्पदाबारे विश्वसमुदायको ध्यानाकर्षण गरी यसको विकासका लागि वैश्विक सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले विश्व संस्कृत दिवस मनाइँदै आएको सङ्कल्पकर्ता डा निर्मलमणि अधिकारीले बताए । प्राचीनकालमा शैक्षिकसत्रको प्रारम्भ श्रावण शुक्ल पूर्णिमाकै दिनदेखि सुरु गरिने हुनाले यस दिनलाई विश्व संस्कृत दिवसका रुपमा मनाउन थालिएको हो । विश्व संस्कृत दिवसलाई आधिकारिकताका लागि संयुक्त राष्ट्रसङ्घसमक्ष प्रस्ताव लैजाने तयारी भइरहेको छ ।
नेपालमा आयोजित विश्व संस्कृत दिवसमा जरो किलो प्रतिष्ठान नेपाल, नेपाल संस्कृत विश्वविद्यालय र यसअन्तर्गतका आङ्गिक र सम्बन्धनप्राप्त विद्यापीठ, काठमाडौँ विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभाग, त्रिभुवन विश्वविद्यालयको संस्कृत केन्द्रीय विभाग, जयतु संस्कृतम्, हिमवत् आर्ष प्रज्ञा, सनातन धर्म महासङ्घ नेपाल, सहृदयता समाज नेपाललगायत संस्थाले सहकार्य गरेको आयोजक समितिले जनाएको छ ।
यसैगरी, विश्व संस्कृत दिवसका लागि अन्तरराष्ट्रिय तहमा सहृदयता इन्टरनेशनल, इन्टरनेशनल फेडेरेशन अफ् सनातन धर्म, नेपाली हिन्दू फोरम युके, सनातन धर्म अष्ट्रेलिया, विश्व भुटानी हिन्दू सङ्गठन, ग्लोबल सोसाइटी फर् पीस एण्ड स्पिरिचुअल साइन्सलगायतका संस्थाले सहकार्य गरेको जनाइएको छ ।