काठमाडौं– रसुवाको उत्तरगया गाउँपालिकाका अध्यक्ष माधवप्रसाद अर्यालले उद्धार र राहत कार्यमा संघीय सरकारको उपस्थिति शून्य रहेको भन्दै आक्रोश व्यक्त गरेका छन् । भोटेकोशी बाढीबाट अतिप्रभावित आफ्नो गाउँपालिकाको अवस्था अहिले भयावह रहेको र अहिलेसम्म संघीय सरकारको उपस्थिति आकाश र सामाजिक सञ्जालमामात्र देखिएको उनले फेसबुकमामा लेखेका छन् ।
स्थानीय सरकारको तर्फबाट घाइतेको उद्धार, उपचार, पीडितहरुको व्यवस्थापनलगायत कार्यमा पहल गरिरहेको भए पनि स्रोत साधनको अभावले सम्भव हुन नसकेको उनको गुनासो छ । प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, जिल्ला प्रशासन कार्यालयलगायत निकाहरुलाई तत्काल उद्धारका लागि हारगुहार गर्दा पनि आश्वासनबाहेक कुनै सहयोग प्राप्त नभएको उनको गुनासो छ ।
‘सरकारी कार्यालयको व्याकअपबाट मोबाइल चार्ज गरेर खोल्दा डाटा चल्यो र सामाजिक सञ्जाल हेर्दा प्रधानमन्त्रीको पोस्ट पढेँ, हाम्रो क्षेत्रबाट हेर्दा संघीय सरकार आकाशमा देखिन्छ सामाजिक सञ्जालमा देखिन्छ,’ अध्यक्ष अर्यालले फेसबुकमा लेखेका छन, ‘केही क्षेत्रमाबाहेक विपद्को अवस्थामा जनताले अनुभूति गर्नेगरी कुनै काम भएको छैन । जनताको प्रतिनिधि भएको र भुइँमा नै काम गरिरहेको स्रोत साधन र आफ्नो कार्यालयको परिवारको सदस्य र सयौं जनताहरू गुमाएको प्रतिनिधिले अनुभूति गरेको विषय हो ।’
आफूले केही सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदा गृहमन्त्रीको सचिवालयबाट फोन गरेर ‘नकारात्मक प्रचार नगरिदिनुहोला राजनीति नगर्नुहोला’ भनेको उनले उल्लेख गरेका छन् ।
अध्यक्ष अर्यालले अहिले ५० भन्दा बढी शव छरिएर रहेको र त्यसलाई व्यवस्थापन गर्न नसकिएको बताएका छन् । केही संख्यामा रहेको प्रहरीले सुरक्षा दिनेबाहेक अरु काम गर्न नसकिरहेको र उनीहरुसमेत भोकभोकै खटिइरहेको उनले बताएका छन् । ‘प्रहरीले माथिको आदेश आउनुपर्छ भन्दै शव पहिचान गरेर दाहसंस्कार गर्न पनि दिएको छैन,’ अध्यक्ष अर्यालले भनेका छन्, ‘बाढीको सूचना जारी गर्न खटिनुभएका हाम्रो होनहार कर्मचारीहरू चार जना अहिलेसम्म बेपत्ता हुनुहुन्छ । सूचना तथा सञ्चार अधिकृत जनक आचार्यको पहिचानपछि दाहसंस्कार गरिएको छ । कार्यपालिका सदस्य ज्ञानु बिक, केही शिक्षकहरूसँग सम्पर्क हुन सकिरहेको छैन ।’
वेत्रावती बजार क्षेत्र, कैदलेटार, पैरेबेसी, भुकम्पबाट विस्थापित भएर ११ वर्षदेखि अस्थायी वसोबास गरिरहेका झण्डै ३०० घर परिवार, सल्लेटार, मैलुङ क्षेत्रमा बसोबास गर्ने स्थानीयहरू, त्रिशुली ३बी जलविद्युत् आयोजनाको ठूलो संख्याका कर्मचारी र कामदारहरू, माथिल्लो त्रिशुली १ जलविद्युत् आयोजनामा कार्यरत कोरियन, चाइनिज, भारतीय र नेपाली कामरहरू ठूलो संख्यामा हराइरहेको उनले बताएका छन् । ‘सुरूङभित्र फसेको भन्ने खबर आइरहेको छ। गोसाइँकुण्ड र मानसरोवर यात्रामा निस्कनुभएको धेरै यात्रीहरू हराइरहनुभएको छ,’ अध्यक्ष आचार्यले लेखेका छन् ।
‘सडक सम्पर्कबाट यो क्षेत्र पूर्णरुपमा विच्छेद छ । विद्युत् आपूर्ति बन्द भएपछि मोबाइल नेटवर्कमा समस्या आएको र मोबाइल अफ भएर सम्पर्क हुन सकिरहेको छैन । टिमुरे, स्याफ्रुबेशी क्षेत्रमा धेरै नै मानवीय क्षति पुगेको छ । त्यो भन्दा बढी मैलुङ, सल्लेटार, पैरेबेसी, कैदलेटार र वेत्रावती क्षेत्रमा अकल्पनीय मानवीय क्षति पुगेको छ,’ अध्यक्ष आचार्यले थप भनेका छन्, ‘घरवारविहीन परिवारका सदस्यहरूको संख्या उल्लेख्य छ । मरणासन्न अवस्थाका घाइतेहरूको उद्धारका लागि प्रधानमन्त्री कार्यालयदेखि सबै निकायहरूमा समन्वय गरेर हेलिकप्टरको प्रतीक्षा गर्दा पनि कुनै सुनुवाइ नभएपछि कालिकास्थान जिवजिवे अस्पताल हुँदै १० घण्टापछि धुञ्चे अस्पतालमा लानुपर्ने अवस्था हामीले भोगेका छौं ।’