काठमाडौं- रसुवाको भोटेकोशीमा गएको बाढी र विपद्पश्चात् स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विषयगत फोकल पर्सन तोकेको छ । विपद्का समयमा आपत्कालीन स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी, व्यवस्थित र समन्वयात्मक बनाउन मन्त्रालयका अनुसार स्वास्थ्य आपत्कालीन अवस्थाको समग्र समन्वयका लागि स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र प्रमुख डा हेमन्तचन्द्र ओझालाई जिम्मेवारी दिइएको छ ।
आपत्कालीन स्वास्थ्य टोली तथा मानव स्रोत परिचालनका लागि एचइओसीसँगको समन्वयमा डा रोशन न्यौपानेलाई फोकल पर्सन तोकिएको छ । त्यसैगरी प्रदेशस्तरीय समन्वयका लागि स्वास्थ्य सेवा विभागबाट डा फणिन्द्रप्रसाद बराल र मन्त्रालयबाट डा समीरकुमार अधिकारीलाई जिम्मेवारी दिइएको छ । घटनास्थलमा सङ्घीय स्वास्थ्य टोली परिचालनका लागि रसुवामा डा प्रकाश ज्ञवाली र शङ्कर कँडेल तथा नुवाकोटमा डा प्रशान्त नापित र प्रवीण कार्कीलाई फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ ।
सम्भावित महामारीको जोखिम कम गर्न, पूर्वतयारी, निगरानी तथा आवश्यक प्रतिकार्यका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा अमृत पोखरेललाई फोकल पर्सन तोकिएको मन्त्रालयले जनाएको छ । विपद्को समयमा सर्वसाधारण, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाबीच आवश्यक सहयोग तथा समन्वयलाई सहज बनाउन मन्त्रालयले विपद् स्वास्थ्य सहयोग समन्वय प्रणाली सञ्चालनमा ल्याएको छ ।
उक्त प्रणालीमार्फत उपचार, औषधि वा अन्य स्वास्थ्य सहयोगका लागि अनुरोध गर्न सकिनेछ । त्यस्तै, स्वास्थ्यकर्मीले स्वयंसेवाका लागि आफ्नो विवरण दर्ता गर्न तथा स्वास्थ्य संस्थाले मेडिकल टोली, औषधि वा उपकरण सहयोगको प्रस्ताव राख्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उक्त प्रणालीमार्फत विपद्का बेला आवश्यक स्वास्थ्य सेवा तथा स्रोतसाधनको माग र आपूर्तिबीच समन्वय गरी प्रभावित क्षेत्रमा स्वास्थ्य प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।