काठमाडौं- सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हाे।
बैठकले घाइतेको निःशुल्क उपचार, प्रभावितको तत्काल उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण तथा घर गुमाएकालाई खाने- बस्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकोप्टर परिचालन गर्ने र आवश्यक सबै साधन परिचालन गर्न गृहमन्त्रीलाई निर्देशन दिइएको छ।
त्यस्तै, अवरुद्ध सडक, विद्युत् तथा दूरसञ्चार सेवा तत्काल सञ्चालन गर्ने, खानेपानीको व्यवस्था गर्ने र मृतकका परिवारलाई कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ। क्षतिग्रस्त सार्वजनिक संरचना तथा भौतिक पूर्वाधारको पुनःनिर्माणका लागि आवश्यक आर्थिक स्रोत परिचालन गर्न अर्थमन्त्रीलाई समन्वयको जिम्मेवारी दिइएको छ। सरकारले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ।