- विश्वासको मत लिने तयारीमा रहेका मुख्यमन्त्री किरण थापा मगरले सोमबार तीनपटक बैठक सार्दा पनि सकेनन् बैठक राख्न
- नेकपाका उर्मिला लामा, रुकु चौलागाईं, गंगानारायण श्रेष्ठ, कृष्ण खनाल, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ र युवराज चौलागाईं अनुपस्थित हुँदा अप्ठेरोमा मुख्यमन्त्री
- सरकारलाई समर्थन गरी मन्त्री बनेका राप्रपा सांसद राजु बिष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङ पदमुक्त
काठमाडौं- सोमबार बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत लिने तयारी गरेका थिए । तर सत्तारुढ दल नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र विवाद चुलिएपछि उक्त कार्यतालिका आज (मंगलबार) का लागि सारियो ।
सोमबार दिउँसो १ बजेका लागि तय भएको बैठक साँझ ५ बजे हुँदै राति ८ बजेलाई सर्यो । तर उक्त समयमा पनि बैठक बस्न नसकेपछि आज दिउँसो ४ बजेसम्मका लागि स्थगित भएको छ । यसको मुख्य कारण थियो सत्तारुढ दलभित्रैको असन्तुष्टि । बिहीबार नेकपा एमालेका २५, नेकपाका २६ र राप्रपाका १२ गरी ६३ जना प्रदेशसभा सदस्यको समर्थनमा थापा मगर मुख्यमन्त्री बनेका थिए । कूल १०४ प्रदेशसभा सदस्य रहेको बागमतीमा ५३ मत भए मुख्यमन्त्रीलाई विश्वासको मत पुग्छ ।
सोमबार विश्वासको मत लिने कार्यतालिका सार्वजनिक भएसँगै राप्रपाले बागमती प्रदेशमा मन्त्री बनेका आफ्ना सदस्यहरु राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई केन्द्रीय अनुशासन समितिको सिफारिसमा पदमुक्त गर्यो । यसअघि राप्रपाले संसदीय दलको नेताबाट उद्धव थापालाई पदमुक्त गरेको थियो । राप्रपाका तीन जना सांसद भए पनि मुख्यमन्त्री थापा मगरलाई मत पुग्ने थियो । यसैले मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत पाउनेमा ढुक्क थिए ।
तर सत्तापक्षकै सात जना सांसद बैठकमा अनुपस्थित भएपछि मुख्यमन्त्री थापा संकटमा परे । एमाले स्रोतका अनुसार नेकपाका उर्मिला लामा, रुकु चौलागाईं, गंगानारायण श्रेष्ठ, कृष्ण खनाल, लक्ष्मण लम्साल, राजेन्द्रमान श्रेष्ठ र युवराज चौलागाईंले विश्वासको मत हाल्ने कार्यक्रम बहिस्कार तयारी गरेका थिए ।
मन्त्रिपरिषद् विस्तार र सरकारमा सहभागी गराउने विषयमा पार्टीभित्र पर्याप्त छलफल नगरी एकलौटी ढंगले निर्णय गरिएको भन्दै ती सांसद असन्तुष्ट रहेको बताइएको छ । विश्वासको मतको मतदानअघि असन्तुष्ट सांसदहरूलाई मनाउने प्रयास जारी रहेको बताइएको छ । नेकपा संसदीय दलका नेता शालिकराम जम्कट्टेलले भने नेकपाका सबै सांसदले मुख्यमन्त्रीको पक्षमा विश्वासको मत दिने दाबी गरे । ‘दलबाट निर्वाचित उहाँहरूको काम सरकार बनाउने, मन्त्री बनाउने र आफू पनि मन्त्री बन्ने हो । साथीहरूका आफ्ना केही कुराहरू हुन सक्छन्, दलको ह्वीप मान्न पार्टीका साथीहरु आउनुहुन्छ,’ जम्कट्टेलले भने ।
यता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुख्यमन्त्री थापा मगर नेतृत्वको सरकार गठनको संवैधानिक वैधतामाथि प्रश्न उठाउँदै प्रदेशसभा बैठक सञ्चालनमा अवरोध गर्ने चेतावनी दिएको थियो । मुख्यमन्त्री नियुक्तिविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलासमा राप्रपाकी प्रमुख सचेतक कुमारी तामाङले उत्प्रेषण परमादेशसहितको निवेदन दिएकी छन् ।