काठमाडौं– कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दुई दिने तामाङ ज्ञान महोत्सव शुरु भएको छ । तामाङ न्हाङखोर, तामाङ डाजाङ लगायत संस्थाको आयोजनामा आइतबार ११औं तामाङ ज्ञान महोत्सव शुरु भएको हो ।
आइतबार प्रा. डा. सञ्जीव उप्रेतीले तामाङ र संरचनात्मक लाभांश विषयमा विद्वत प्रवचन दिएका थिए । लगत्तै तामाङ जेन अल्फा ः के सोच्छन् आफ्नै भाषा र संस्कृतिबारे ? विषयमा छलफल भएको थियो ।
छलफलमा सहभागीहरुले पछिल्लो पुस्तामा तामाङ भाषाको अभ्यास हराउँदै गएको बताएका थिए । ‘घरमा पनि खासै कुराकानी हुँदैन । विद्यालयमा पनि पढाई तामाङ भाषामा हुँदैन,’ स्वयम्भुस्थित फ्युचर स्टार माविको कक्षा ८ मा पढ्दै गरेका अविनाश लो तामाङले भने । अल्फा पुस्तालाई भाषा सिकाउन तामाङ विद्यालयहरु सञ्चालनमा आउनुपर्ने ललितपुरस्थित जुगल स्कुलको कक्षा १० की छात्रा मनिता ग्याबक तामाङले सुझाइन् ।

तामाङ ज्ञान महोत्सवमा पहिलोपटक अल्फा पुस्तालाई ठाउँ दिइएको आयोजकले जनायो । त्यसपछि ‘एआई, तामाङ भाषा र संगीत’ विषयमा विभिन्न पेपर प्रस्तुत गरिएको थियो । उक्र सत्रमा काठमाडौैं विश्वविद्यालयका प्रा. डा. बालकृष्ण बल, नेपाल सरकारका उपसचिव डा. लोक बहादुर लोप्चन, शिक्षक निलमणि लामा, कानुनका विद्यार्थी सफलता थिङ, गायक तथा संगीतका शुभ तामाङ, शिक्षक घनश्याम पन्तले कार्यपत्र प्रस्तुत गरेका थिए ।
भाषाविद् अमृत योन्जन–तामाङले सृष्टिको उत्पत्ति सम्बन्धी तामाङ विश्वदृष्टिकोण प्रस्तुतपछि मासिन्या विमर्श भएको थियो । जंगबहादुर राणाको मुलुकी ऐन – १९१० ले तामाङमाथि पारेको बहुआयामिक दुष्प्रभावबारेको विमर्शमा अधिवक्ता डा.कुन्साङ योन्जन, विश्लेषक युग पाठक र उपप्राध्यापक कुमारी लामाले आआफ्नो तर्क राखेका थिए ।
तामाङ न्हाङखोर, तामाङ डाजाङ, तामाङ राष्ट्रिय पुस्तकालय, जुनकिरी नेपाललगायत संस्थाको आयोजनामा शुरु भएको महोत्सव सोमबार साँझ सकिने कार्यक्रम रहेको महोत्सवका संयोजक निष्णु थिङले बताए ।
महोत्सव आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनले उद्घाटन गरेका थिए । उद्घाटनमा प्राज्ञ डा. कृष्णराज सर्वहारी, प्राज्ञ सीता तुम्खेवालगायतले आफ्नो धारणा राखेका थिए ।

सोमबार प्रज्ञा प्रतिष्ठानमै नोर्थ बंगाल विश्वविद्यालयका सहप्राध्यापक डा सुदास लामाको विद्धत प्रवचन हुने कार्यतालिका रहेको छ । त्यसपछि तामाङ अध्ययन र ज्ञान विषयक कार्यपत्र भाषाविद् अमृत योन्जन–तामाङले प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।
यसैगरी तामाङ संगीतको बौद्धिक बहस विषयका छलफलमा चन्द्रकुमार दोङ, शुभ घलान, इन्दिरा योञ्जन, धावाङ्गेल मोक्तान र रोशन फ्युबा सहभागी हुनेछन् ।
कार्यक्रमको अन्त्यमा तामाङ जेन्जीः मुद्दा, आकांक्षा र सपना विषयमा समूहगत छलफल राखिएको आयोजकले जनायो ।