काठमाडौं- राष्ट्रियसभाका सदस्यहरुले बाराको जीतपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कारबाही गर्न माग गरेका छन्।
सभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले बालबालिका तथा महिलामाथि हुने हिंसा नियन्त्रण, बालबालिकाको सुरक्षा सुनिश्चितता तथा यस्ता घटनाप्रति सरकार र सुरक्षा निकाय गम्भीर हुनुपर्नेमा जोड दिए।
सांसद पूजा चौधरीले बालिकाको हत्या घटनामा संलग्नलाई कारबाही गर्दै बालबालिका तथा महिलामाथिको हिंसा रोक्न र बालिकाको सुरक्षा सुनिश्चित गर्न माग गरिन्।
सांसद रेणु चन्दले बालिका हराएको उजुरीप्रति गम्भीर नभएको भन्दै सरकार र सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै हत्या घटनाका दोषीलाई कडा कारबाही गर्न माग गरिन्। सांसद विष्णुदेवी पुडासैनीले उक्त घटनाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडाभन्दा सजाय दिन माग गरिन्।
सांसद मनरुपा शर्माले वैदेशिक रोजगारीका क्रममा दुबईमा मृत्यु भएका पर्वतका नारायण सार्कीको शव तत्काल नेपाल ल्याउन तथा परिवारलाई राहत उपलब्ध गराउन माग गरिन्।
सांसद रुक्मिणी कोइरालाले नयाँ बजेट र कार्यक्रमको प्रभाव जनताको दैनिकीमा देखिनुपर्ने बताउँदै कृषकले उचित मूल्य पाउने, महिलाको सुरक्षा हुने र युवालाई रोजगारीको व्यवस्था हुने गरी काम गर्न सुझाव दिइन्।
यस्तै शून्य समयमा सांसदहरुले बाढी पहिरोबाट बिस्थापितहरुलाई तत्काल उद्धार र राहतको व्यवस्था गर्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद कृष्णबहादुर रोकायाले रोल्पा र बाजुरामा बाढी तथा पहिरोबाट भएको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराउँदै विस्थापितको उद्धार, राहत तथा जोखिमयुक्त बस्तीको क्षति मूल्याङ्कन गरी राहतको व्यवस्था गर्न माग गरे।
सांसद घनश्याम रिजालले दीपा नेपालीको सत्याग्रह तथा ‘कोठा खाली छ सरकार’ नारासहित भइरहेको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराउँदै वार्तामार्फत समस्या समाधान गर्न सुझाव प्रस्तुत गरे।