काठमाडौं- आज राष्ट्रिय सूचना दिवस, २०८३ मनाइँदै छ । सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भई कार्यान्वयनमा आएको दिनको सम्झनामा उक्त दिवस मनाउन लागिएको हो ।
आजको दिन विभिन्न सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी राष्ट्रिय सूचना दिवस, २०८३ मनाउने राष्ट्रिय सूचना आयोगले जनाइएको छ । विसं २०६४ साउन ५ गते सूचनाको हकसम्बन्धी कानुन संसद्बाट पारित भएको थियो । कानुन पारित भएको ३० दिनपछि कार्यान्वयनमा आउने व्यवस्था ऐनमा गरिएकाले २०६४ भदौ ३ गतेदेखि सूचनाको हकसम्बन्धी ऐन, २०६४ कार्यान्वयनमा आएको हो ।
नेपालको संविधानको धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हकलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । लोकतन्त्रको प्राणवायुका रूपमा रहेको सूचनाको हकलाई व्यवहारमा उतार्दै यसको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले कानुन निर्माण गरिएको हो ।
सार्वजनिक निकायमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्व कायम गर्न तथा सुशासनको प्रत्याभूति गराउन सूचनाको हक अपरिहार्य रहेको राष्ट्रिय सूचना आयोगले जनाएको छ । नागरिकको यस हकको निर्वाध प्रयोगबाट मात्रै मुलुकमा दिगो विकास र जनमुखी शासन प्रणालीको सुदृढीकरण सम्भव हुने आयोगले आज जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ ।