काठमाडौं- आजको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन् ।
सांसदले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभा बैठकको आजको आकस्मिक समयमा बोल्दै सांसद श्रीराम न्यौपानेले विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिनुपर्ने विचार व्यक्त गरे। “वातावरण प्रदूषण नियन्त्रण गर्न र ग्यास आयात प्रतिस्थापन गर्न विद्युतीय चुलोमा जानुपर्छ”, उनले भने ।
बैठकमा उनले मनसुनजन्य विपद्का कारण सडकखण्ड अवरुद्ध हुँदा सर्वसाधारणको जनजीवन कष्टकर हुँदै गइरहेको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराए । बैठकमा सांसद धनबहादुर बुढाले डोल्पामा पहिरोका कारण सडक अवरुद्ध हुँदा खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानीमा समस्या भएको बताए । उनले विपद्बाट प्रभावित नागरिकलाई तत्काल राहत तथा पुनः स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गरे ।
सांसद प्रेमबहादुर बयकले सडक दुर्घटनाबाट मृत्यु हुनेको सङ्ख्या बढिरहेको भन्दै सडक सुरक्षासम्बन्धी नीतिको प्रभावकारी कार्यान्वयनमा जोड दिए । सांसद प्रकाश पाठकले झापामा जङ्गली हात्तीका कारण स्थानीयवासी समस्यामा परेको बताउँदै बस्तीमा प्रवेश गर्ने हात्तीको व्यवस्थापनका लागि प्रभावकारी उपाय अवलम्बन गर्न सरकारसँग माग गरे । उनले सरकारले परिणाममुखी काम गर्नुपर्नेमा जोड दिए।
सांसद पूर्णप्रसाद लिम्बूले सङ्खुवासभाको भोटखोला गाउँपालिकामा अविरल वर्षाका कारण विद्युत् सेवा प्रभावित भई स्थानीयवासी सौर्य ऊर्जामा निर्भर हुनुपरेको विषयमा सरकारको ध्यानाकर्षण गराए । सभामुख डोलप्रसाद अर्यालले सदनमा उठेका विषयमा प्रधानमन्त्रीलाई जवाफ दिन सोमबारको बैठकमा रूलिङ गरेपछि आजदेखि विपक्षी सांसदहरूले बैठकको आरम्भमा स्थानबाट उठेर प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिबारे विरोध गर्ने क्रम अन्त्य गरेका छन् ।