काठमाडौं- ३२ औं तामाङ प्रसारण दिवसका अवसरमा दुई जना पत्रकारहरु ‘तामाङ मिडिया अवार्ड-२०८३’बाट सम्मानित भएका छन् । सोमबार काठमाडौंको बुद्धनगरस्थित आरम्भ रेस्टुरेन्टमा तामाङ पत्रकार संघीय समितिले आयोजना गरेको मिडिया अवार्ड वितरण कार्यक्रममा पत्रकारद्वय जगतमान तामाङ(काभ्रे) र जमुना तामाङ(मकवानपुर) सम्मानित भएका हुन् ।
सम्मानित दुवैलाई प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य परशुराम तामाङ र संघका अध्यक्ष नेत्र तामाङले जनही नगद १० हजार रुपैयाँ र सम्मानपत्र सहित सम्मान प्रदान गरेका हुन् । वि.सं. २०६४ सालमा रेडियो नमोबुद्धबाट पत्रकारिता सुरु गरेका सम्मानित जगतमान तामाङले काभ्रेपलान्चोक जिल्ला, तेमाल -१ स्थायी निवासी हुन् ।
तामाङले रेडियो नमोबुद्धमा समाचार सम्पादक/वाचक र तामाङ भाषा तथा अन्य भाषाको कार्यक्रम उत्पादक, सञ्चालक गर्दै हाल स्टेसन म्यानेजरका साथै नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको तामाङ भाषाको कार्यक्रम ल्हास्सोको निर्माण एवं प्रस्तुत समेत गर्दै आएका छन् । त्यसैगरी पुरस्कृत जमुना तामाङले वि.सं २०७६ सालमा समृद्ध समाज दैनिकबाट पत्रकारिता सुरु गरेकी हुन् । मकवानपुर जिल्ला, हेटौंडा उपमहानगरपालिका -१२ स्थायी निवासी तामाङ विभिन्न रेडियो, अनलाइन र पत्रपत्रिका हुँदै हाल वागमती प्रदेशको राजधानी हेटौंडाबाट हिमालय टेलिभिजनको संवाददाताको भूमिकामा रहेर सक्रिय रहँदै आएकी छन् ।
विद्युतीय सञ्चार माध्यमबाट पहिलोचोटी वि.सं.२०५१ साल भदौ १ गते रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रसारण भएको थियो । यही ऐतिहासिक दिनको स्मरण गर्दै देशभरीका तामाङ समुदायको सञ्चार क्षेत्रले प्रत्येक वर्ष भदौ १ गते विभिन्न कार्यक्रम तथा शुभकामना आदानप्रदान गरेर तामाङ प्रसारण दिवस मनाउँदै आएको छ । यसै अवसरमा तामाङ पत्रकार संघीय समितिले देशभरीका सम्पूर्ण तामाङ पत्रकार एवं सञ्चारकर्मीहरु मध्यबाट एक जना पुरुष र एकजना महिला गरी दुई जनालाई तामाङ मिडिया अवार्डबाट सम्मान गर्दै आएको छ ।

यस वर्षको तामाङ मिडिया अवार्डका लागि संघको विभिन्न प्रदेश र जिल्ला समितिहरुबाट प्राप्त भएका सिफारिस र संघको मापदण्ड अनुसार गठित छनोट समितिको निर्णयका आधारमा पत्रकार द्वयलाई अवार्ड प्रदान गरिएको हो । लेखक, अनुसन्धाता एवं तामाङ पत्रकार संघका संस्थापक अध्यक्ष रवीन्द्र तामाङको संयोजकत्वमा गठित समितिको सदस्यमा संघका प्रमुख सल्लाहकार एवं निवर्तमान अध्यक्ष सुवास योञ्जन र संघका महासचिव सरस्वती तामाङ थिए ।
प्रतिनिधि सभा सदस्य तामाङले विगतको सञ्चार माध्यमको इतिहास र तामाङ भाषाको समाचारको सुरुवाती समयको सङ्घर्ष स्मरण गर्दै प्रसारण दिवसको अवसरमा आफू नै सबैभन्दा खुसी भएको व्यक्ति रहेको सुनाए । 'तामाङ मात्र नभएर नेपालको आदिवासी जनजातिको भाषा विकास राज्यले गर्नुपर्छ', उनले भने, 'यो समुदायको त हो नै राज्यको पनि मुद्दा र दायित्व हो । आदिवासीको भाषा जोगाउने काम राज्यले गर्नुपर्छ ।' तामाङ भाषाको समाचार सरकारी तहको सञ्चार माध्यम रेडियो नेपाल, नेपाल टेलिभिजनदेखि गोरखापत्रसम्म आउनुपर्छ भन्नेमा आफ्नो हस्ताक्षर र पहल भएको उनले स्मरण गरे । उनका अनुसार ताम्सालिङको निर्माण गर्न सकेमा तामाङहरु एकजना नागरिक मात्र होइन, सिङ्गो राष्ट्रका रूपमा अगाडि बढ्न सक्छन् । यदि राष्ट्र बचाउने हो भने राजनीति चरणमा जानुपर्ने धारणा राख्दै उनले तामाङहरुमा सांस्कृतिक चेतना आइसकेको बताए । यसलाई राजनीति चेतनामा रुपान्तरण गरेर सबै एकताबध्द भएर साझा रूपमा अगाडि बढ्न उनले आग्रह गरे । यसका लागि सबै किसिमका प्रयास र सहयोग गर्ने प्रतिबद्धता समेत उनले जाहेर गरे ।
तामाङ भाषा, संस्कृतिलाई जगेर्ना गर्न सञ्चार माध्यम मार्फत सधैं कुनै व्यक्तिको पहलमा मात्र अभियानकै रूपमा लैजान कठिन भएको आ-आफ्नो अनुभुति बाँड्दै सम्मानित जगतमान तामाङ र जमुना तामाङले अब व्यवसायिक रूपमा अगाडि बढ्नुपर्ने धारणा राखे ।
मातृभाषी पत्रकारिताले भाषा जगेर्ना सँगै आदिवासीको कला, संस्कृति, संस्कार र पहिचान समेत जोगाउने आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका अध्यक्ष लक्की चौधरीले बताए । उनले भने, 'राज्यले लगानी गरेन भने मातृभाषी पत्रकारिता विलिन हुँदै जान्छ। मातृभाषी पत्रकारिता गरेर मात्र पत्रकारहरु टिक्ने र बिक्ने अवस्था छैन ।' उनका अनुसार आदिवासी समुदायको सूचना राज्य समक्ष पुर्याउन मातृभाषी पत्रकारहरुको भुमिका अहम् छ । मातृभाषी पत्रकारितालाई अगाडि बढाउन राज्यको पहल हुनुपर्छ ।
कार्यक्रममा 'तामाङ सञ्चारको यात्रा : छापादेखि एआइसम्म' विषयक अन्तरक्रिया समेत गरियो । पूर्व मिस नेपाल सफलता थिङ तामाङले सहजीकरण गरेको अन्तरक्रियामा वक्ताका रूपमा भाषाविज्ञ अमृत योञ्जन, आइटी विज्ञ प्रा.डा. बालकृष्ण बल, सन्चारकर्मीहरु मिक्साङ वाइबा, बिरबल तामाङ थिए । वक्ताहरुले सञ्चार क्षेत्रमा छापा पत्रकारितादेखि एआइसम्म आइपुग्दा तामाङ भाषाको पत्रकारिताका विगत र वर्तमानसम्मका आयामहरुलाई खोतल्ने जमर्को गरे ।
संघका अध्यक्ष नेत्र तामाङले मातृभाषी पत्रकारिताको फराकिलो आयामको यात्रालाई डोर्याउने अग्रजदेखि अनुज पुस्ता सबैलाई आभार व्यक्त गर्दै यसको विकासको लागि सबैको पहल हुनुपर्ने बताए । कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामा, तामाङ सञ्चार क्षेत्रकी ऐतिहासिक व्यक्तितत्व रमिता बल, संघका सल्लाहकार विष्णु तामाङ, नेपाल तामाङ घेदुङका अध्यक्ष रामकृष्ण ब्लोन तामाङ, रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, लगायतले प्रसारण दिवसको शुभकामना मन्तव्य व्यक्त गर्दै मातृभाषी पत्रकारिता अवस्था, चुनौती र यसको उन्नतिका निम्ति राज्यले नै चाल्नुपर्ने कदमबारे प्रकाश पारे ।