काठमाडौं। एआई विज्ञ डा लासाङ जिम्बा तामाङले अहिलेको अवस्थामा पत्रकारितामा एआई प्रयोग अनिवार्य रहेको बताएका छन्। तामाङ पत्रकार संघले बुधबार काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा डा तामाङले एआईलाई अँगल्नु अहिलेको आवश्यकता भएको बताएका हुन्।
एआईले अहिले संसारमा ठुलो परिवर्तन ल्याइरहेको र यसलाई प्रयोग नगर्ने पत्रकार धेरै पछि पर्ने उनले बताएका हुन्। 'अहिले एआईले धेरै नै परिवर्तन ल्याइरहेको छ। एआईलाई धेरै नै परिवर्तन ल्याइरहेको छ। तपाईंहरुले आजको दिनमा एआईलाई एडप्ट गर्न सक्नुभएन भने तपाईहरु लोप हुन सक्छ,' डा तामाङले भने, 'एआई प्रयोग नगरे तपाई डाइनोसर बन्नुहुन्छ।'
द युनभर्सिटी अफ मेम्फिस, अमेरिकाबाट एआई प्रविधिमा विद्यावारिधी गरेका तामाङले कुनै बेला कान्तिपुरमा लेख्ने मात्र चर्चित हुने भए पनि अहिले न्यु मिडियाले त्यो ठाउँ खोसिसकेको बताए। यसैले एआई प्रयोग आफूलाई स्मार्ट बनाउनका लागि भएको उनको भनाई थियो। 'उदाहरणको लागि कुनै बेला चाहिँ कान्तिपुर मिडियामा कसैले लेख लेख्यो भने उ एकदमै हिरो बन्थ्यो। थोरै पत्रकार यस्ता थिए,' डा तामाङले भने, 'अब जसरी सोसल मिडिया आएपछि अल अफ सडेन हामीले चिन्दै नचिनेको मान्छेहरु सेलिब्रेटी भए चिन्दै नचिनेको मान्छे पनि नामी भए।'

आफूले आफैलाई वरिष्ठ मानेर एआई प्रयोग गर्न आनाकानी गरे अहिलेको जमानामा गलत हुने उनको भनाई थियो।
उनले महिना दिन लागेर गर्नुपर्ने काम अहिले एआईले एकैछिनमा गर्न सकिने बताए। पछिल्ला दिनमा एआईमा इररहरु देखिए पनि पेड भर्सनमा त्यस्तो समस्या नहुने डा तामाङले बताए।
कार्यक्रमा तामाङ पत्रकार संघका सल्लाहकार अमरध्वज लामा र रमिता लामाले पनि एआईको प्रयोग अहिलेको लागि अतिआवश्यक भएको बताए। उक्त अवसरमा तेस्रो अन्तरराष्ट्रिय मातृभाषा सम्मेलन - २०२६ मा सहभागी हुन देशभरबाट काठमाडौं आइपुगेका तामाङ पत्रकारहरुसँग छलफलसमेत भएको थियो।