काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सडक तथा पूर्वाधार, ग्यास आपूर्ति, रोजगारी, स्वास्थ्य, शिक्षा, सुशासन, विपद्, सामाजिक न्याय र सेवा प्रवाहसँग सम्बन्धित जनसरोकारका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा भाग लिनुहुने सांसदहरूले ग्यासको सहज आपूर्ति र कालोबजारी नियन्त्रण, रोजगारी सिर्जना, आर्थिक वृद्धि, वैदेशिक रोजगारमा हुने ठगी, विपद् तथा पुनःनिर्माण, सामाजिक विभेद तथा समावेशिता, भूमिहिनको समस्या, दूरसञ्चार तथा प्रविधि, अपराध नियन्त्रण र नागरिकको सहज पहुँचलगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनीहरूले युवा शक्तिको सदुपयोग गर्न, बालोबजारी नियन्त्रण गर्न, अलपत्र आयोजना अघि बढाउन, सार्वजनिक यातायात व्यवस्थापन गरी यात्रुलाई राहत दिन, अपांगता भएका व्यक्तिलाई प्राथमिकतासाथ सेवा प्रवाह गर्न, रेलमार्ग निर्माण प्रक्रियाअन्तर्गत रोकिएको मुआब्जा दिन, बहुप्रतिक्षित बुढीगण्डकी जलविद्युत ओयोजना र महाकाली आयोजनालाई तीव्रता दिन तथा कर्णालीका सडक संरचना निर्माणमा जोड दिन सरकारसँग अनुराध गरे । यसैगरी कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंहको मृत्युबारे छानबिन गर्न, ‘आइभिएफ’ सम्बन्धी कानुन ल्याउन, मधेसी तथा थारु समुदायमाथि हुनेगरेको दुव्र्यवहार अन्त्य गर्न, तीन तहका सरकारबीच समन्वय कायम देश र जनताका पक्षमा काम गर्न, कर्णाली क्षेत्रलाई पर्यटकीय हवका रुपमा विस्तार गर्न र सुशासन र सेवा प्रवाहलाई प्राथमिकता दिन उनीहरूले सरकारको ध्यानाकर्षण गराए ।
सांसदहरूले चन्द्रागिरिको बौद्धस्तूपका लागि बजेट व्यवस्था गर्न, रोजगारीको अवस्था सिर्जना गर्न, चिकित्सक पलायन हुने अवस्थाको अन्त्य गरी सरकारी र निजी अस्पतालमा दिइने पारिश्रमिक दररेट समान गर्न, सबै निर्वाचन क्षेत्रमा एकरुपताका साथ बजेट विनियोजन गर्न, वन्यजन्तु आतंक र डुबानको समस्या समाधान गर्न र जाजरकोट भूकम्पपछिको पुनःनिर्माणमा जोड दिन अनुरोध गरे । शून्य समयमा माग लिनुहुने सांसदहरूले विधिविज्ञान प्रयोगशालाको क्षमता विस्तार गर्न, वैदेशिक रोजगार र विद्यार्थी भिषामा हुने गरेको ठगी नियन्त्रण गर्न, वैदेशिक रोजगारीमा रहेका श्रमिकको समास्या समाधान गर्न, भूमिहिनलाई सट्टा जग्गा उपलब्ध गराउन, गुणस्तरीय सेवा नपुगेका नलगाडलगायतका क्षेत्रमा दूरसञ्चार क्षमता विस्तार गर्न, हेलो सरकारको प्रभावकारितामा जोड दिन र अपांगता भएका, यौनिक अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायको मागलाई प्राथमिकता दिई सम्बोधन गर्न सम्बन्धिित पक्षको ध्यानाकर्षण गराए ।

यसैगरी, सुनसरी घटनाको निष्पक्ष छानबिन गर्न, भक्तपुरस्थित सुधारगृहमा भएको हत्या प्रकरणको छानबिनसहित सुधारगृहको सुरक्षा कदम चाल्न, सिंहदरबारभित्र आमजनताको पहुँच बढाउन, मधेस प्रदेशमा सर्पदंशका लागि ‘एन्टिभेनम’को पर्याप्त व्यवस्था गर्न र सर्वशुलभ रुपमा ग्यासको व्यवस्था गर्न, सुशासन, पारदर्शितासहित जनमुखी नीति तथा कार्यक्रमसहित देश र जनताका पक्षमा देखिने गरी काम गर्न सरकारसँग उनीहरूले अनुरोध गरे । आजको शून्य समयमा सांसदहरू डा अचुतम लामिछाने, अनुष्का श्रेष्ठ, अभिषेकप्रताप शाह, अफसना बानु, अरबिन्द साह, अर्जुननरसिंह केसी, आकृति अवस्थी, आरेन राई, आशिष गजुरेल, इन्दिरा रानामगर, एलिजा गुरुङ, यशोदाकुमारी बराल, ओजस्वी शेरचन, अंकिता ठाकुर, कमल सुवेदी, करिश्मा कठरिया, कामिनी कुमारी, कालीबहादुर सहकारी, कुलभक्त शाक्य, कुसुम महर्जन र कोमल ज्ञवालीले भाग लिएका थिए ।
यसैगरी, क्रान्तिशिखा धिताल, खगेन्द्र सुनार, खड्कबहादुर बुढा, खड्ग शाही, खुस्बु ओली, खेमराज कोइराला, गणेश कार्की, गणेश धिमाल, गणेश पौडेल, खिमा विक, गणेश विक, गणेशसिंह ठगुन्ना, गीता गुरुङ, गीताकुमारी सेन्दाङ, गोविन्द पन्थी, गंगा छन्त्याल, गंगादेवी श्रेष्ठ, गंगालक्ष्मी अवाल, चन्दनकुमार सिंह, चन्देश्वर मण्डललगायतका सांसदले आआफ्नो निर्वाचन क्षेत्रका समस्यासहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।