सियोल-दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका प्रभावशाली व्यवसायी तथा एसके समूहका अध्यक्ष चे ताए-विनलाई सम्बन्धविच्छेद मुद्दामा आफ्नी पूर्वपत्नी रोह सोह–योङलाई नौ खर्ब ४४ अर्ब वोन (करिब ६४ करोड ४० लाख अमेरिकी डलर) भुक्तानी गर्न आदेश दिएको छ । यद्यपि दुवै पक्षलाई सर्वोच्च अदालतमा पुनः अपिल गर्ने अधिकार रहेकाले फैसला अझै अन्तिम भएको छैन ।
६५ वर्षीय चे दक्षिण कोरियाको प्रमुख औद्योगिक समूह एसके समूहका अध्यक्ष छन् । उक्त समूहअन्तर्गत रहेको एसके हाइनिक्स विश्वकै अग्रणी मेमोरी चिप उत्पादकमध्ये एक हो र एआई प्रविधिको तीव्र विस्तारसँगै यसको बजार मूल्य उल्लेखनीय रूपमा बढेको छ । यसअघि सन् २०२४ मा सोल उच्च अदालतले चेले रोहलाई १३ खर्ब ८० अर्ब वोन (करिब ९४ करोड अमेरिकी डलर) तिर्नुपर्ने फैसला गरेको थियो । त्यतिबेला उक्त रकम एक अर्ब अमेरिकी डलरभन्दा बढी बराबर भएकाले दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले यसलाई ‘शताब्दीको सम्बन्धविच्छेद’ नाम दिएका थिए ।
त्यसपछि चेले सर्वोच्च अदालतमा अपिल गरेका थिए । सर्वोच्च अदालतले अघिल्लो फैसला पुनरावलोकन गर्न आदेश दिएपछि उच्च अदालतले भुक्तानी रकम घटाएर नौ खर्ब ४४ अर्ब वोन कायम गरेको हो । अदालतमा विवादको मुख्य विषय एसके समूहमा रहेको चेको सेयरसहित दम्पतीको साझा सम्पत्तिको मूल्याङ्कन र त्यसको बाँडफाँट थियो । शुक्रबारको फैसलामा अदालतले रोह वैवाहिक जीवनमा आर्जित सम्पत्तिको करिब एकतिहाइ बराबर नगद रकम पाउने हकदार रहेको उल्लेख गरेको छ ।

दालतका अनुसार विवाह अवधिमा चेको व्यवस्थापकीय भूमिकाका कारण कम्पनीमा रहेको उनको सेयरको मूल्य उल्लेखनीय रूपमा बढेको थियो । त्यस वृद्धिमा रोहले घरपरिवारको जिम्मेवारी, सन्तानको हेरचाह तथा एसके समूहसँग सम्बन्धित सार्वजनिक गतिविधिमार्फत योगदान पुर्याएकाले उहाँको हिस्सेदारी स्वीकार गर्नुपर्ने निष्कर्ष निकालिएको हो । चे र रोहले सन् १९८८ मा विवाह गरेका थिए। दुवै जना १५ वर्षभन्दा बढी समयदेखि अलग बस्दै आएको विश्वास गरिन्छ । चेले सन् २०१५ मा विवाहबाहिरको सम्बन्धबाट सन्तान जन्मिएको सार्वजनिक रूपमा स्वीकार गरेका थिए र त्यसपछि सन् २०१७ मा सम्बन्धविच्छेदको निवेदन दायर गरेका थिए । मध्यस्थता असफल भएपछि सन् २०२२ देखि मुद्दा अदालतमा विचाराधीन रहेको छ ।
रोह दक्षिण कोरियाका पूर्वराष्ट्रपति रोह ताए–वूकी छोरी हुन् । उनी हाल डिजिटल कला सङ्ग्रहालय सञ्चालन गर्दै सांस्कृतिक क्षेत्रमा सक्रिय छन् । दम्पतीका तीन सन्तान छन् । यसअघि अदालतले रोहका बुबासँग सम्बन्धित ३० अर्ब वोनको गोप्य कोषलाई एसके समूहको विकाससँग जोड्दै सम्पत्ति बाँडफाँटको आधार मानेको थियो । तर सर्वोच्च अदालतले उक्त रकम अवैध घुसबाट आएको हुन सक्ने ठहर गर्दै त्यसलाई गणनामा समावेश गर्न नहुने निर्णय दिएको थियो ।
अदालतले पछिल्लो पुनरावलोकनमा भने दम्पती अलग भएपछि एआई उद्योगको तीव्र विस्तारसँगै एसके समूहको सेयर मूल्यमा भएको उल्लेखनीय वृद्धिलाई पनि सम्पत्ति विभाजनको आधारमा समावेश गरेको जनाएको छ । सार्वजनिक विवरणअनुसार सन् २०१५ यता एसके समूहको सेयर मूल्य तीन गुणाभन्दा बढीले बढेको छ भने एसके हाइनिक्सले एआई चिप निर्माणका लागि आवश्यक मेमोरी चिप अमेरिकी कम्पनी एनभिडियालाई आपूर्ति गर्दै आएको छ । चेको कम्पनीमा रहेको सेयरको मूल्य हाल करिब पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबर रहेको बताइएको छ । यसअघि सर्वोच्च अदालतले चेलाई रोहलाई दुई अर्ब वोन गुजारा भत्ता उपलब्ध गराउन छुट्टै आदेश पनि दिइसकेको छ ।