काठमाडौं- सडक विभागले पहिरोका कारण अवरुद्ध रहेको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गअन्तर्गत कोदारी सडक आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ (तातोपानी जाने बाटो) जिरोकिलो तथा भोटेकोशी गाउँपालिका-२ कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।
मौसम अनुकूल रहे सडक आजै साँझदेखि सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको विभागको भनाइ छ ।सडक विभागका महानिर्देशक विजय जैशीले ठूलो वर्षा नभए आज साँझबाट र वर्षा निरन्तर भए भोलिदेखि सडक सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिए । “वर्षा कम भए आज साँझबाटै कोदारी सडक सञ्चालनमा ल्याउने लक्ष्य छ । वर्षा निरन्तर भए भोलिसम्म सडक खुलाउने गरी काम भइरहेको छ”, उनले भने ।
महानिर्देशक जैशीका अनुसार अवरुद्ध सडकखण्ड छिटो सञ्चालनमा ल्याउन सम्भावित पहिरो प्रभावित स्थानमा डोजर, एक्साभेटर, लोडर लगायतका हेभी उपकरण तयारी अवस्थामा राखिएको छ । पहिरो हटाउने कार्य तीव्र गतिमा भइरहेको उनले बताए । देशका विभिन्न स्थानमा भइरहेको भारी वर्षाका कारण राजमार्गमा पहिरोको जोखिम बढिरहेकाले सडक विभागले आवश्यक सतर्कता अपनाउन तथा यात्रा गर्दा सडकको पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।