- बाढीपहिरो, डुबानलगायत कारणले छ वटा राजमार्ग अवरूद्ध भएको नेपाल प्रहरीद्वारा जानकारी
- बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसीमा सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा पूर्णरूपमा रोक
- इलाम जिल्लामा पर्ने मेची राजमार्ग, अर्घाखाँची जिल्लाको सालझन्डी-ढोरपाटन सडक, सिन्धुपाल्चोकको अरणिको राजमार्गलगायत पूर्णरूपमा अवरुद्ध
काठमाडौं- निरन्तरको वर्षासँगै आएको बाढीपहिरोका कारण देशभरका छ वटा राजमार्ग अवरूद्ध भएका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको शुक्रबार साँझसम्मको तथ्यांकअनुसार बाढीपहिरो, डुबानलगायत कारणले छ वटा राजमार्ग अवरूद्ध भएका हुन् ।
बिपी राजमार्गअन्तर्गत खुर्कोट-नेपालथोक-कटुञ्जेबेँसीमा सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवागमनमा पूर्णरूपमा रोक लगाइएको नेपाल प्रहरीले जनाएको छ । बिपी राजमार्ग खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै गत जेठ २२ गतेदेखि बेलुका ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको हो । उक्त सडकमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म मात्र सवारीसाधन सञ्चालन हुने गर्दछन् ।
वर्षात्का कारण हुनसक्ने बाढीपहिरोको सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले मकवानपुरस्थित कान्ति लोकपथअन्तर्गत सञ्चालन हुने सवारीसाधन रातिको समयमा रोक लगाइएको छ । नेपाल प्रहरीका अनुसार बेलुका ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालन हुने सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको हो ।
केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले इलाम जिल्लामा पर्ने मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिए । ‘वर्षात्का कारण गत असार २३ देखि इलामको इलाम नगरपालिका-९, राजदुवालीस्थित मेची राजमार्गमा बाटो हिलो भई सवारीसाधन आवतजावत गर्न नसक्ने भएकाले उक्त सडक पूर्णरूपमा अवरुद्ध भएको छ,’ उनले भने ।
केन्द्रीय प्रहरी प्रवक्ता काफ्लेले ढुंगासहितको पहिरोका कारण अर्घाखाँची जिल्लाको सालझन्डी-ढोरपाटन सडक पूर्णरूपमा अवरुद्ध भएको जानकारी दिए । गत असार २८ देखि अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, ढुंगेखोलास्थित सालझन्डी-ढोरपाटन सडकमाथिबाट ढुंगा खसेर बाटो पूर्णरूपमा अवरुद्ध भएको उनको भनाइ छ ।
सिन्धुपाल्चोकको अरनिको राजमार्ग पहिरोका कारण पूर्णरूपमा अवरुद्ध छ । गत असार ३१ गते भोटेकोशी गाउँपालिका-४, जिरोकिलाअन्तर्गत अरनिको राजमार्गमा सडक माथिबाट पहिरो खसेर बाटो पूर्णरूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।
त्यस्तै, शुक्रबार सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ कोदारीस्थित अरनिको राजमार्गअन्तर्गत इकुमा पहिरो जाँदा आवागमन बन्द भएको छ । उक्त खण्डमा सडकमाथिबाट ढुंगा माटोसहित लेदो खसेर आवागमन पूर्णरूपमा अवरुद्ध भएको छ ।
बागलुङ कालीगण्डकी करिडोर पूर्णरूपमा अवरुद्ध भएको छ । शुक्रबार बागलुङ, जैमिनी नगरपालिका-८, बेलबगर कालीगण्डकी करिडोर सडकमाथिबाट ढुंगा र माटोसहितको पहिरो खसेर बाटो पूर्णरूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ ।