काठमाडौं - नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र उठेको ब्याजलाई पनि अघिल्लो आर्थिक वर्षकै आम्दानीका रूपमा गणना गर्न पाउने व्यवस्था गरेको छ। नयाँ व्यवस्थाअनुसार अब साउन १५ गतेभित्र उठेको ब्याजलाई असार मसान्तसम्मको नाफा–नोक्सान हिसाबमा समावेश गर्न सकिनेछ।
राष्ट्र बैंकले हालै जारी गरेको एकीकृत निर्देशन संशोधनमार्फत यस्तो व्यवस्था लागू गरेको हो। संशोधित व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले आफ्नो लेखानीतिअनुसार प्रोद्भावी (Accrual) आधारमा लेखांकन गरिएको ब्याज आम्दानीमध्ये आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त भएको ब्याजलाई सोही आर्थिक वर्षको आम्दानीका रूपमा देखाउन पाउनेछन्।
यद्यपि, आर्थिक वर्ष समाप्त भएको १५ दिनभित्र प्राप्त नभएको ब्याज आम्दानीको हकमा भने प्रचलित व्यवस्थाअनुसार आयकर, कर्मचारी बोनस तथा वैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकम नियमनकारी कोषमा जम्मा गर्नुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ। पछि उक्त ब्याज असुल भएमा नियमनकारी कोषबाट सञ्चित मुनाफामा फिर्ता गर्न सकिने व्यवस्था पनि गरिएको छ।
यसअघि बैंकहरूले असार मसान्तभित्रै उठिसकेको ब्याजलाई मात्र सोही आर्थिक वर्षको आम्दानीमा समावेश गर्न पाउने व्यवस्था थियो। नयाँ व्यवस्थाले आर्थिक वर्ष सकिएपछि पनि साउन १५ गतेसम्म प्राप्त हुने ब्याजलाई अघिल्लो वर्षकै नाफामा समावेश गर्न सकिने भएकाले बैंकहरूको वित्तीय विवरणमा केही सहजता आउने अपेक्षा गरिएको छ।
राष्ट्र बैंकका अनुसार यो व्यवस्था बैंक तथा वित्तीय संस्थाको वित्तीय प्रतिवेदनलाई थप व्यावहारिक बनाउने तथा आर्थिक वर्षको अन्त्यतिर हुने ब्याज असुलीलाई उचित रूपमा प्रतिबिम्बित गर्ने उद्देश्यले लागू गरिएको हो।