Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #शिशिर खनाल
  • #परराष्ट्रमन्त्री
Search Here
विचार
  • Home
  • विचार
  • जनसांख्यिक लाभांश गुमाउँदै नेपाल
जनसांख्यिक लाभांश गुमाउँदै नेपाल
डा. उद्धव सिग्देल
डा. उद्धव सिग्देल आइतबार, असार २८, २०८३
डा. उद्धव सिग्देल

 

तथ्यांकहरू आफैं बोलिरहेका छन् । काम गर्ने उमेरको जनसंख्या ६२ प्रतिशत पुगेको, प्रजनन् दर प्रतिस्थापन तहमा झरेको र वृद्धिदर ८० वर्षयताकै न्यून रहेको मुलुकसँग जनसांख्यिक अवसरको यो आकार फेरि कहिल्यै आउने छैन । इतिहासले कुनै पनि राष्ट्रलाई यस्तो जनसांख्यिक लाभको झ्याल एकपटक मात्र दिन्छ । दक्षिणपूर्वी एसियाले त्यसलाई समृद्धिको अवसरमा परिणत गर्‍यो । ल्याटिन अमेरिकाका कतिपय मुलुकले गुमाएर पछुताइरहेका छन् । नेपाल अहिले ठीक त्यही दोबाटोमा उभिएको छ ।

जनसांख्यिक बनावटको हिसाबले नेपाल अहिले यस्तो बिन्दुमा छ जहाँ अवसर र क्षय एकैपटक प्रकट भएका छन् । काम गर्ने उमेरको जनसंख्या इतिहासकै उच्च बिन्दुमा पुगेका बेला युवा पलायन पनि उत्कर्षमा छ । काम गर्ने उमेरको जनसंख्याको बाहुल्यता अवसरको घेरो हो तर रोजगारी र गुणस्तरीय शिक्षाको अभावमा विदेश जानुपर्ने बाध्यता जनसांख्यिक लाभांशको क्षय हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा बिहानैदेखि लाइन लाग्छ । काँधमा नयाँ झोला, हातमा पासपोर्ट र अनुहारमा अनिश्चयको छाया बोकेका अधिकांश यात्रु २० देखि ३५ वर्ष उमेरका युवा हुन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्र आठ लाख ३९ हजार २६६ जनाले वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिए । औसतमा दिनैपिच्छे करिब दुई हजार ३०० युवा अर्थात् हरेक मिनेटजसो एकभन्दा बढी विदेसिने गरेमा छन् । ठीक यहीबेला मुलुक आफ्नो इतिहासकै सबैभन्दा अनुकूल जनसांख्यिक अवस्थामा छ भन्ने तथ्य बहसको केन्द्रमा पर्न सकेको छैन । जनसंख्याशास्त्रीहरूले ‘सुनौलो झ्याल’ भन्ने गरेको यो जनसांख्यिक अवसर सधैँका लागि खुला रहँदैन । नेपालका निम्ति प्रश्न यतिमात्र हो कि यो झ्याल बन्द हुनुअघि लाभ उठाउन सक्छौं कि सक्दैनौं ?

Hardik health

आधा शताब्दीको संक्रमण
जनसांख्यिक संक्रमण भनेको उच्च जन्मदर र उच्च मृत्युदरबाट न्यून जन्मदर र न्यून मृत्युदरतर्फको यात्रा हो । युरोपले २०० वर्ष लगाएर पार गरेको यो यात्रा नेपालले करिब पाँच दशकमै पूरा गरेको छ । नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणका शृंखलाबद्ध तथ्यांक हेर्दा सन् १९९६ मा प्रतिमहिला ४.६ रहेको कूल प्रजनन् दर सन् २०२२ मा आइपुग्दा २.१ मा झरेको छ, जुन प्रतिस्थापन तह हो । अर्थात् अबका नेपाली आमाहरूले औसतमा जति बच्चा जन्माउँछन्, त्यसले जनसंख्यालाई बढाउँदैन, मात्र प्रतिस्थापन गर्छ ।

गण्डकी प्रदेशको प्रजनन् दर १.४ मा झरिसकेको छ भने बागमतीको १.६ छ जुन विकसित युरोपेली मुलुकहरूकै हाराहारीमा पुगेको पाइन्छ । मृत्युका सूचकहरूमा सुधार अझ उल्लेखनीय छ । सन् १९९६ मा प्रतिहजार जीवित जन्ममा ७८ रहेको शिशु मृत्युदर २०२२ सम्ममा २८ मा झरेको छ भने स्वास्थ्य क्षेत्रमा आएको प्रगतिले पाँच वर्षमुनिको बाल मृत्युदर ११८ बाट ३३ मा पुगेको छ । यसको सोझो अर्थ हो कम बच्चा जन्मन्छन् र अधिकांश जन्मेका बच्चा बाँच्छन्, हुर्कन्छन् र श्रमशक्तिमा प्रवेश गर्छन् ।

जन्म र मृत्युदरमा आएको गिरावटका पछाडि केही महत्‍वपूर्ण सामाजिक परिवर्तनका आधार छन् । परिवार नियोजनका साधनको प्रयोग विवाहित महिलामा ५७ प्रतिशत पुगेको छ । छोरीहरूको विद्यालय भर्ना छोराहरुकै हाराहारीमा छ र महिलाको औसत विवाह उमेर क्रमशः ढिला हुँदै गएको छ । उच्च शिक्षा र आयआर्जनमा संलग्न महिलाले सानो परिवार रोज्ने विश्वव्यापी प्रवृत्तिसँग नेपाल पनि सँगसँगै उस्तै गतिमा हिँडिरहेको छ । सन् २००२ मा गर्भपतनलाई कानुनी मान्यता दिइएपछि प्रजनन् स्वास्थ्य सेवामा पहुँच फराकिलो भएको छ र वैदेशिक रोजगारका कारण दम्पती वर्षौं अलग बस्नुपर्ने बाध्यताले जन्मदर घट्नुमा महत्‍वपूर्ण भूमिका खेलेको तथ्यहरुले स्पष्ट पार्छन् । समग्रतामा स्वास्थ्य सेवामा पहुँच र महिला सशक्तीकरण नै जन्म र मृत्युदर न्यूनीकरणका मुख्य कारणको रुपमा लिइन्छ ।

मुलुकको कूल जनसंख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ पुगे पनि वार्षिक वृद्धिदर ०.९२ प्रतिशतमा खुम्चिएको छ, जुन विगत ८० वर्षयताकै न्यून हो । रामेछापलगायत ३४ वटा जिल्लाको जनसंख्या त ऋणात्मक दरले घटिरहेको छ । जनसंख्याको उमेर संरचना युवामुखीबाट क्रमशः प्रौढमुखी हुँदै गइरहेको छ र यही परिवर्तनका बीचमा छ, नेपालको ऐतिहासिक अवसर ।

इतिहासकै अनुकूल उमेर संरचना
राष्ट्रिय जनगणना २०७८ का अनुसार, कूल जनसंख्याको ६२ प्रतिशत १५ देखि ५९ वर्षका काम गर्ने उमेर समूह जनसंख्या छ । जुन २०६८ सालमा ५७ प्रतिशतमात्र थियो । बालबालिका २७.८ प्रतिशत र वृद्धवृद्धा १०.२ प्रतिशत छन् । यसको अर्थ, इतिहासमै पहिलोपटक कमाउने उमेरका मानिस आश्रितभन्दा उल्लेख्यरूपमा बढी छन् । जनसंख्या अध्ययनमा यसैलाई जनसांख्यिक लाभांश (डेमोग्राफिक डिभिडेण्ड) भनिन्छ । यो लाभांशले अर्थतन्त्रलाई चार प्रमुख माध्यमबाट विकास गर्न सकिन्छ । पहिलो, श्रमशक्तिको प्रचुर आपूर्तिले उत्पादन र सेवा क्षेत्र विस्तार हुन्छ । दोस्रो, आश्रित जनसंख्या कम हुँदा परिवार र राष्ट्रकै बचत दर बढ्छ, जसले पुँजी निर्माणलाई टेवा दिन्छ । तेस्रो, थोरै बालबालिकामा प्रतिव्यक्ति शिक्षा-स्वास्थ्य लगानी बढाउन सकिन्छ, जसले अर्को पुस्ताको उत्पादकत्व वढाउँछ । र चौथो, कमाउने जनसंख्याले आन्तरिक बजार, उद्यमशीलता र नवप्रवर्तनलाई गति दिन्छ ।
१० वर्षअघि १०० जना काम गर्ने उमेरका नेपालीले करिब ७६ जना आश्रित जनसंख्या पाल्नुपथ्र्यो, आज त्यो भार घटेर ५३ जनाको हाराहारीमा झरेको छ । घट्दो आश्रित अनुपातको यही अन्तर नै त्यो ‘बोनस’ हो, जसलाई सही नीतिले पुँजीमा बदल्न सकिन्छ । जनसांख्यिक लाभांश स्वचालित होइन र ठीक ढंगले व्यवस्थापन गर्न सकिएन भने यो एउटा चेतावनी पनि हो । अनुकूल उमेर संरचना केवल सम्भावना हो र त्यसलाई प्रतिफलमा बदल्न ती हातहरूलाई सीप, ती सीपलाई रोजगारी र ती रोजगारीलाई उत्पादकत्वसँग जोड्नैपर्छ ।

बेरोजगार युवाको भीड लाभांश होइन, बरु जोखिम हो जसले अर्थतन्त्र होइन, असन्तोषमात्र बढाउँछ । यो कुनै सैद्धान्तिक बहस होइन । दक्षिण कोरिया, ताइवान र सिंगापुरले सन् १९७० र ८० को दशकमा ठीक यस्तै उमेर संरचना पाएका थिए र त्यसलाई गुणस्तरीय शिक्षा, औद्योगिकीकरण र रोजगारी सिर्जनासँग जोडेर ‘दक्षिण-पूर्वी एसियाली चमत्कार’ रचेका थिए । अर्थशास्त्रीहरूका अनुसार ती मुलुकको तीव्र आर्थिक वृद्धिको झण्डै एकतिहाइ हिस्सा जनसांख्यिक लाभांशकै देन थियो । नेपालसँग आज त्यही सामथ्र्य छ । फरक यत्ति हो कोरियाले आफ्ना युवालाई कारखाना र प्रयोगशालामा खटायो, हामी विमानस्थलबाट बिदाइ गरिरहेका छौं ।

जेट चढेर विदेशतिर जनसांख्यिक लाभांश
नेपालको जनसांख्यिक सामथ्र्यको सबैभन्दा ठूलो विडम्बना यहीँ छ । जुन उमेर समूहका कारण मुलुक अवसरको शिखरमा हुनुपर्ने हो, त्यही उमेर समूह मुलुकभित्र छैन । जनगणना २०७८ का अनुसार २१ लाख ९० हजार ५९२ नेपाली परिवारमा अनुपस्थित भई अक्सर विदेशमा बसोबास गर्छन् । कूल जनसंख्याको साढे सात प्रतिशत हाराहारी अनुपस्थितको संख्या रहेको छ । यीमध्ये ८२.२ प्रतिशत पुरुष छन् र अधिकांश उत्पादनशील उमेरका छन् । हरेक साढे चार परिवारमध्ये एक परिवारको कोही न कोही सदस्य विदेशमा छन् । अन्तर्राष्ट्रिय बसाइँसराइको प्रवाह रोकिने छाँट छैन, बरु बढिरहेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा पाँच लाख पाँच हजार ९५७ जनाले नयाँ र तीन लाख ३३ हजार ३०९ जनाले पुनः श्रम स्वीकृति लिएका थिए भने विगत पाँच वर्षमै ३५ लाखभन्दा बढीले श्रम स्वीकृति लिइसकेका छन् । गन्तव्यमा युएई, साउदी अरब, कतार, कुवेत र मलेसिया अग्रस्थानमा छन् । यो सँगै शैक्षिक उन्नयनका नाममा अस्ट्रेलिया, जापान, क्यानडा र युरोपतर्फ बाहिरिने विद्यार्थीको लर्को छुट्टै छ । यसमध्ये ठूलो हिस्सा फर्कने सम्भावना कम छ । उता विदेसिने महिलाको संख्या पनि एक दशकमा ७१ प्रतिशतले बढेको जनगणनाले देखाउँछ ।

अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षण २०८२/८३ का अनुसार चालु आवको फागुनसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या १३.७ प्रतिशतले घटेको छ, तर पुनःस्वीकृति लिनेको संख्या भने १५.९ प्रतिशतले बढेको छ । यसको अर्थ आप्रवासनको प्रवाह रोकिएको होइन बरु एकपटक गएकाहरू फर्केर स्वदेशमा बस्ने वातावरण पाइरहेका छैनन् । फेरि उतै फर्किरहेका छन् । वैदेशिक रोजगार अब आपत्कालीन विकल्प रहेन, पुस्तान्तरित जीवनपद्धति बन्दै छ । यसको आर्थिक प्रतिफल भने अंकमा चम्किलो देखिन्छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आव २०८१/८२ मा १७ खर्ब २३ अर्ब रुपैयाँ विप्रेषण भित्रियो, जुन कूल गार्हस्थ उत्पादनको २८.६ प्रतिशत हो र हालसम्मकै उच्च अनुपात मानिन्छ । चालु आवको १० महिनामै १९ खर्ब रुपैयाँ नाघिसकेको यो आर्थिक प्रवाहले नेपाललाई विप्रेषण-जिडिपी अनुपातमा विश्वकै अग्रणी १० देशमा उभ्याएको छ । विप्रेषणले गरिबी घटाएको, विदेशी मुद्रा सञ्चिति बलियो बनाएको र लाखौं घरपरिवारको भान्सा चलाएको यथार्थलाई नकार्न सकिँदैन तर विप्रेषण भनेको युवा श्रमको निर्यातबापत् प्राप्त मूल्य हो । हामीले मेसिन बेचेका छैनौं, मान्छे पठाएका छौं । खाडीको घाममा पसिना बगाएर आएको त्यो रकमको ठूलो हिस्सा उपभोग र आयातमै सकिन्छ । उत्पादनशील लगानीमा रूपान्तरण हुँदैन । अर्थतन्त्रले उत्पादन गर्न होइन, उपभोग गर्न सिकाइरहेको छ ।

देशमै उपयोग गर्न नसकिएको शक्ति
युवा किन विदेश जान्छन् भन्ने प्रश्नको उत्तर सजिलो छ । यहाँ काम छैन, भए पनि मर्यादित छैन । श्रमबजारमा हरेक वर्ष लाखौं युवा थपिन्छन्, तर तिनलाई खपत गर्नेगरी औपचारिक रोजगारी सिर्जना हुन सकेको छैन । जनगणना २०७८ कै तथ्यांकले १० वर्षमाथिका ३७.५ प्रतिशत नेपालीले गणनाअघिको एक वर्षमा कुनै आर्थिक काम नगरेको देखाउँछ । जसले काम पाएका छन्, तिनको ठूलो हिस्सा न्यून उत्पादकत्वको अनौपचारिक क्षेत्रमा अल्झिएको छ । समस्या रोजगारीको संख्यामामात्र होइन, गुणस्तर र तालमेलमा पनि छ ।

विश्वविद्यालयले बर्सेनि हजारौं स्नातक उत्पादन गर्छ, तर श्रमबजारले खोजेको सीप ती प्रमाणपत्रमा हुँदैन । कृषि आधुनिकीकरण हुन सकेको छैन र औद्योगिक क्षेत्रको योगदान खुम्चिँदो छ । दक्ष जनशक्तिजस्तै चिकित्सक, नर्स, इञ्जिनियर, सूचना प्रविधिविज्ञको पलायनले त सेवा प्रवाह र नवप्रवर्तन क्षमतामै नराम्रोसँग असर पुर्‍याएको छ । गाउँघरमा यसको सामाजिक पक्ष अझ कारुणिक छ जस्तैः बाँझा गरा, बूढाबूढी र बालबालिकामात्र भएका बस्ती, वर्षौं पर्खाइमा बित्ने दाम्पत्य र बाकसमा फर्किने छोराछोरीहरू ।

पलायनको मूल्य पैसाले नाप्न नसकिनेगरी पनि तिरिँदै छ । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने र अंगभंग हुने कामदारका तथ्यांक हरेक वर्ष वैदेशिक रोजगार बोर्डका प्रतिवेदनमा थपिँदै जान्छन् । एकल अभिभावकत्वको भारले किचिएका आमाहरू, बाबुको अनुहार तस्बिरमामात्र चिन्ने बालबालिका र सामाजिक विग्रहका अनेक रूप यी विप्रेषणको अंकमा कहीँ लेखिँदैनन् । जुन गाउँका युवा खाडी गए, त्यही गाउँका पाखा बाँझा भए, खाद्यान्नमा आत्मनिर्भर जिल्लाहरू चामल किन्ने भए । श्रमशक्तिको यो रिक्तताले कृषिको उत्पादन लागत बढाएको छ र त्यसले फेरि आयातलाई नै मलजल गरेको छ ।

अर्थशास्त्रमा यसलाई ‘डच रोग’ को लक्षणसँग तुलना गरिन्छ । बाहिरबाट आउने सजिलो पैसाले भित्रको उत्पादन क्षमतालाई निमोठ्दै लैजाने अवस्था देखिन्छ । विप्रेषणले चलेको उपभोगमुखी अर्थतन्त्रले आयात बढाउँछ, आयातले व्यापार घाटा, र त्यो घाटा टार्न फेरि थप युवा पठाउनुपर्ने बाध्यता । यो दुश्चक्रबाट मुलुक बाहिर निस्कन सकेको छैन । जनसांख्यिक लाभांशको दृष्टिले हेर्दा यो अवस्था अवसरको सोझो क्षय हो । हामीले आफ्नो सबैभन्दा मूल्यवान् स्रोत अरूका अर्थतन्त्र निर्माणमा लगाइरहेका छौं र बदलामा ज्याला भित्र्याइरहेका छौं ।

दोस्रो संक्रमणको संघारमा नेपाल
जनसांख्यिकी आयमको अझ गम्भीर पाटो अगाडि देखिन्छ । प्रतिस्थापन तहमा झरेको प्रजनन दर, ढिलो हुँदै गएको विवाह, सानो परिवारको रोजाइ, २७ प्रतिशत नाघेको सहरी बसोबास र फेरिँदो जीवनशैली आदिलाई जनसंख्याशास्त्रीहरू ‘दोस्रो जनसांख्यिक संक्रमण’ का लक्षण मान्छन् । जहाँ प्रजनन दर प्रतिस्थापन तहभन्दा तल झरेर लामो समय उठ्दैन । युरोप, जापान र दक्षिण कोरिया यही बाटो हिँडेर आज श्रमशक्ति अभाव र वृद्ध हेरचाहको संकटसँग जुधिरहेका छन् ।

जापानले वृद्ध हेरचाहमा रोबोट भित्र्याउनुपरेको छ भने कोरियाले जन्मदर उकास्न खर्बौं खर्चेर पनि सफलता पाएको छैन । फरक के भने, ती मुलुक धनी भइसकेपछि बूढा भए । तिनीहरूसँग वृद्ध समाज धान्ने पुँजी, प्रविधि र संस्थागत क्षमता छ । नेपाल भने धनी हुनुअघि नै बूढो हुने जोखिममा छ, जसलाई विकास अर्थशास्त्रीहरू सबैभन्दा प्रतिकूल जनसांख्यिक नियति मान्छन् ।

राष्ट्रिय तथ्यांक कार्यालय र संयुक्त राष्ट्रसंघीय निकायहरूका जनसंख्या प्रक्षेपणले नेपालको जनसांख्यिक अवसरको झ्याल सन् २०४७ को हाराहारीसम्ममा क्रमशः बन्द हुँदै जाने देखाएका छन् । अर्थात्, हामीसँग बढीमा दुई दशकजति मात्र छ । त्यसपछि ६० वर्षमाथिको जनसंख्याको अनुपात, जुन अहिले नै १०.२१ प्रतिशत पुगिसकेको छ, तीव्र गतिले बढ्ने छ । स्वास्थ्य सेवा, हेरचाह अर्थतन्त्र र सामाजिक सुरक्षाभत्तामा राज्यको दायित्व चुलिँदै जाने छ, तर त्यो दायित्व धान्ने करदाता युवा या त विदेशमा हुने छन्, या जन्मिएकै हुने छैनन् । न्यून प्रजनन र निरन्तर पलायन सँगसँगै भोलि नेपाल आफैंले श्रमिक आयात गर्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । केही क्षेत्रमा त्यसका संकेत अहिल्यै देखिन थालेका छन् ।

यो परिदृश्य टार्न सकिन्छ, तर नीतिगत साहस चाहिन्छ । पहिलो, शिक्षालाई सीप र बजारसँग जोड्ने आमूल सुधार चाहिन्छ, ताकि स्नातकको प्रमाणपत्र विदेश जाने हतियारमात्र नबनोस् । प्राविधिक तथा व्यावसायिक शिक्षालाई हेपिएको विकल्पबाट प्रतिष्ठित मूलधार बनाउन प्रदेश र स्थानीय तहसम्मै लगानी विस्तार गर्नुपर्छ । दोस्रो, नीतिगत स्थिरता, सरल प्रशासनिक प्रक्रिया र पूर्वाधारको सुनिश्चितसहित स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्न ऊर्जा, पर्यटन, कृषि प्रशोधन र सूचना प्रविधिजस्ता तुलनात्मक लाभका क्षेत्रमा लगानीमैत्री वातावरण बनाउनुपर्छ ।

जलविद्युत्मा भइरहेको प्रगति र सूचना प्रविधि सेवा निर्यातको बढ्दो आकारले यो असम्भव छैन भन्ने देखाइसकेका छन् । तेस्रो, फर्केका आप्रवासी कामदारको सीप, पुँजी र अनुभवलाई उद्यमशीलतामा रूपान्तरण गर्ने पुनःएकीकरण नीति कागजबाट कार्यान्वयनमा झार्नुपर्छ । विप्रेषणलाई उपभोगबाट उत्पादनशील लगानीतर्फ डोर्‍याउन आकर्षक वित्तीय उपकरणजस्तो डायस्पोरा बण्ड, विप्रेषण-आबद्ध सेयर योजना अघि सार्नुपर्छ । र चौथो, भोलिको बुढ्यौली समाजका लागि योगदानमा आधारित दिगो सामाजिक सुरक्षा र हेरचाह प्रणालीको जग अहिल्यै बसाल्नुपर्छ किनभने वृद्धभत्ताको वर्तमान ढाँचा मात्रले त्यो भार धान्न सकिँदैन ।

अन्तिम मौका
तथ्यांकहरू आफैं बोलिरहेका छन् । काम गर्ने उमेरको जनसंख्या ६२ प्रतिशत पुगेको, प्रजनन् दर प्रतिस्थापन तहमा झरेको र वृद्धिदर ८० वर्षयताकै न्यून रहेको मुलुकसँग जनसांख्यिक अवसरको यो आकार फेरि कहिल्यै आउने छैन । इतिहासले कुनै पनि राष्ट्रलाई यस्तो जनसांख्यिक लाभको झ्याल एकपटक मात्र दिन्छ । दक्षिणपूर्वी एसियाले त्यसलाई समृद्धिको अवसरमा परिणत गर्‍यो । ल्याटिन अमेरिकाका कतिपय मुलुकले गुमाएर पछुताइरहेका छन् । नेपाल अहिले ठीक त्यही दोबाटोमा उभिएको छ । यहाँनेर नीति निर्माताले बुझ्नैपर्ने कुरा के हो भने जनसांख्यिक नीति भनेको जनसंख्या मन्त्रालयको फाइलमा सीमित हुने विषय होइन । यो शिक्षा, श्रम, उद्योग, अर्थ र सामाजिक सुरक्षा सबैलाई एकसूत्रमा बाँध्ने राष्ट्रिय रणनीतिको विषय हो ।

१५औं र १६औं योजनादेखि सरकारका नीति तथा कार्यक्रमसम्म ‘जनसांख्यिक लाभांश’ शब्द दोहोरिँदै आएको छ, तर त्यसलाई कार्यान्वयनमा उतार्ने मापनयोग्य लक्ष्य, जिम्मेवार निकाय र जवाफदेहिताको संयन्त्र अझै बनेको छैन । शब्द नीतिमा छ, संकल्प बजेटमा छैन । रोज्ने हामीले नै हो । कि त आगामी दुई दशकलाई राष्ट्रिय संकल्पका साथ शिक्षा, रोजगारी र लगानीको दशक बनाएर आजको युवा शक्तिलाई समृद्धिको इञ्जिनमा बदल्ने, कि त विमानस्थलको प्रस्थान कक्षको लाइन हेर्दै विप्रेषणको अंक गन्ने । पहिलो बाटो कठिन छ, तर सम्भव छ । दोस्रो बाटो सजिलो छ, तर त्यसको अन्त्यमा एउटा यस्तो नेपाल पर्खिरहेको छ जुन धनी हुनुअघि नै बूढो भइसकेको हुने छ । सुनौलो झ्याल अझै खुलै छ तर घाम ढल्कन थालिसकेको छ । रासस
 


प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १२:२७
प्रतिक्रिया दिनुहोस्
थप विचार
युवा पुस्तामा सकारात्मक सोचको खाँचो 
युवा पुस्तामा सकारात्मक सोचको खाँचो  शुक्रबार, असार २६, २०८३
पाली भाषाको प्राचीनता र व्यापकता
पाली भाषाको प्राचीनता र व्यापकता बिहीबार, असार २५, २०८३
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ मंगलबार, असार २३, २०८३
असारे विकासको परिपाटी बन्द गरौं
असारे विकासको परिपाटी बन्द गरौं मंगलबार, असार २३, २०८३
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या
नेपालमा खनिज साधनको उपलब्धता र उपयोगमा समस्या सोमबार, असार २२, २०८३
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव
बाल संरक्षणसम्बन्धी नीति, संयन्त्र र प्रभाव आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP